सुरेशकुमार पान्डे
छिट्टो गर, काममा फर्किन ढिलो हुन्छ । सुब्बेले आफ्नी स्वास्नीको हातमा ताला थमाउँदै भन्छ ।
‘पहिले मेरो आमाको मुख हेरेर तिम्रो आमा कहाँ जाने है हुन्न !’ चुल्बुलीले सुब्बेतिर हेर्दै भन्छे । ‘हस् तर, मेरो आमा विमारी छन् भनेर पालेले मलाई केहि दिन पहिले भनेको थियो समयनै लाग्दैन आमालाई भेट्न !’ उसले निधार खुम्चाउँदै भन्यो ।
‘सधै बहाना गर्छिन, तिम्री आमालाई केही हुंदैन’ भन्दै ताला लगाएर निस्किन्छे चु्लबुली ।
सुब्बेले कारको दरवाजा खोल्दा बाहिर एउटी बृद्धा महिंलाले सिसा सफा गर्न खोज्छिन् । उसलाई एकातिर पंन्छाउँदै सुब्बे कठोर हुँदै भन्छ–‘छ्या के गर्न खोजेको ?’
‘छोरा केही दिनदेखी केही खाएकी छैन’ भन्दै बुढी आमै गिड्गिडाउन थाल्छिन् । सायद उनी साच्चै भोको नै थिइन् । सुब्बेले बृद्धाको याचनाको वास्ता नगरेर भित्र बस्दै भन्छ– धन्य हामिले हाम्रा आमालाई बृद्धाश्रमा राखेकाछौ । नत्र यस्तै आवारा पशु जस्तै कता–कता भौंतारिन्थे ।’ चुलबुली पनि सुब्बेको कुरामा समर्थन जनाउँदै हास्छे ।
दुबै जनाले राम्रो नोकरी गरेका थिए । छोरा र एउटा छोरी सानैमा बोड्स गरेका थिए । कहिलेकसो छोराछोरीलाई भेट्न जान्थे ।
आज पनि बिहानै छोरीले आमा र बाको फोटा फेसबुकमा अपलोड गरेको देखेर दुबैजनाले कुसे औंसि रैछ भन्ने थाहा पाएका थिए । सुब्बेले राजधानीमा ठूलो तीनतले घर बनाएको थियो । तर घरमा कोहीपनि थिएन । एउटी सफाई गर्ने महिंला आउँथिन् उनी पनि आज नआएपछि हतारमा यिनिहरू आ–आफ्ना आमाहरूलाई भेट्न जांदै थिए ।
सुब्बेको आमा बृद्धाश्रममा थिइन् भने चुलबुलीको आमा घरमै । सुब्बेले कारलाई ससुरालीतर्फ गुडाउँछ एकै छिनको बाटो थियो त्यहां पुगेर भेटघाट गर्छन् ।
‘आमा अहिले हतारमा कुनै उपहार ल्याउन पाइन’ यो लिनुस् भन्दै केही रूपियां आमाको हातमा थमाउँन खोज्छे चुलबुली, तर आमाले लिन मानिनन् । ‘नानी तिमि आयौ यही त होनी उपहार छोरीले दिएको अरू कुनै उपहार चाहिंदैन मलाई’ भन्दै चुलबुलीलाई अंगालोमा वेर्छिन आमा ।
एकछिन चिया गफ गरेपछि त्यँहाबाट बिदा भएर सुब्बेको गाडी बृद्धाश्रमतर्फ गुड्न थाल्छ ।
‘खै कुनै पत्रकार पनि भेटिएनन् । तिमिले एउटा फोटा खिचिदिनु है मैले आमालाई अंगालोमा बेर्दा अरूलाई पनि त देखाउँनु पर्यो ।’ सुब्बेले भन्छ ! ‘हस्’ भन्दै चुलबुलिले समर्थन गर्छे ।
कुरै कुरामा बृद्धाश्रम आइपुगेछ । सुब्बेले गाडीलाई पार्किंगतर्फ लगेर उभ्याउँछ । ‘उफ कस्तो गर्मि हो, ओहो यो बस्तिमा त आउनु पनि नपरोस् । पार्किङको पनि राम्रो ब्यबस्था छैन’ भन्दै बृद्धाश्रमतर्फ लाग्छन् उनीहरु ।
‘आज आमाको मुख हेर्ने दिन भएकोले होला त्यहाँ त धेरै भिड छ’ चुलबुलीले सुब्बेतिर हेर्दै भन्छे । ‘धेरैछन मान्छे त, हाम्रो कति वेला पालो आउँछ भित्र पस्ने ?’ भन्दै सुब्बे पालेलाई फोन लगाउन थाल्छ । ‘पालेको पनि फोन व्यस्त छ, हिँड हिँड’ भन्दै दुबै गेटनिर पुग्छन् ।
भित्र केही पुलिसहरूले लेखापढी गर्दै थिए ! ‘उ आइपुग्नु भयो’ भन्दै पालेले सुब्बेतिर इसारा गर्छ ! ‘साहु जी हजूर..के भयो ?’ सुब्बे अलि केही बुझ्न खोजें झैं अगाडी बढ्छ ।
त्यहां एउटी बृद्धा महिंलाको लाश थियो अनि अलिपर पत्रकार र पुलिस थिए ।
सुब्बेकी आमा धेरै दिनबाट बिमार परेको र आजबिहानै उन्ले अन्तिम स्वास लिएको जानकारी हुन्छ । ‘अब लाश घरतिर लग्ने होकी ?
यतैबाट घाटतिर लग्ने हो साहुजी ?’ पालेले सोध्छ । सुब्बे केही नवोली चुलबुलीतिर नजर घुमाउँछ अहिले पनि उस्का आँखा भिज्न सकेका थिएनन् । सुब्बेले रूने कोसिश गर्दै थियो तरपनि उसको आँखा रसाउँन सकेनन् ।
‘अब घरमा को छर ? हामिनै हो हामि दुबैजना यतै छौं सिधै घाटतिर लानुपर्छ की !’ पालेतिर हेर्दै सुब्बेले भन्छ । अनि केही वेरपछि कुशेऔंसी आमाको धुँवासँगै आकासतर्फ लाग्छ ।
वि.सं.२०७९ वैशाख १७ शनिवार १६:४२ मा प्रकाशित






























