काठमाडौं । नेपाली कांग्रेस गोरखाको पालुङटार नगरपालिकाले निर्वाचनमा एक्लै जाने निर्णय गरेको छ ।
केन्द्रबाट तालमेल गरेर जाने निर्देशन अनुरुप संयुक्त प्यानल बनाई निर्वाचनमा जाने प्रयास गर्दा पनि सफल हुन नसकेपछि अन्ततः गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मित्रवत् व्यवहार गरेर जाने निर्णय गरिएको बताइएको छ ।
‘तालमेल गरी संयुक्त प्यानल बनाई निर्वाचनमा जाने विषयमा दुवै दलले प्रयास गर्दा दुवै नगरपालिकाहरुमा दुवै दलका नेता तथा कार्यकर्ताले एकलरुपमा स्वस्थ्य र मित्रवत् प्रतिश्पर्धा गर्ने जिल्ला स्तरमा सहमित भए अनुरुप पालुङटार नगरपालिकामा नेपाली कांग्रेस एकलरुपमा निर्वाचनमा जाने भएकोले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नु भएका मेयर, उपमेयरलगायत सबै वडाका उम्मेदवारहरुलाई निर्वाचित गराउने गरी चुनावी अभियान सन्चालन गर्न निर्देशन गर्दछु ।’ नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेद्धारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि नेपाली कांग्रेसबाट पालुङटार नगरपालिकाका मेयरका उम्मेदवार दीपकबाबु कंडेलले बैशाख १८ गते आइतबार गठबन्धनको निर्देशन मान्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता भएको घोषणा गरेर जसपाको मेयर उम्मेदवार रहेका प्रेम गुरुङलाई समर्थन गर्ने बताएईको थियो । तर, त्यसको केही समयमै पालुङटार नगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका ५२ उम्मेदवारले संयुक्त राजिनामा दिने चेतावनी दिएका थिए ।
उनीहरुले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको दवावका कारण मेयर पद जसपालाई छोड्नु परेको भन्दै सामुहिक राजिनामा दिने चेतावनी दिएपछि बुधबार जिल्ला सभापतिको यस्तो बिज्ञप्ति सार्वजनिक भएको हो ।

पालुङटारको मेयर पदबाट कँडेलले उम्मेदवारी फिर्ता लिएपछि अन्य ५२ उम्मेदवारले दिए यस्तो चेतावनी
पालुङटारको मेयर पदबाट उम्मेदवारी फिर्ता लिएको कंडेलको घोषणा, जसपालाई समर्थन गर्ने
वि.सं.२०७९ वैशाख २१ बुधवार १६:०८ मा प्रकाशित






























