कृष्ण बाउसे
दिनहरू
औँसीका रात भएर तन्केका थिए ।
रातहरू
त्रासद डढेलाहरू भएर दन्केका थिए ।
हाम्रा चलायमान लासका वरिपरि
धेरै समयदेखि
सन्नाटाहरू भन्केका थिए ।
दिक्क भएर
समयले सहज अवतरणको विकल्प रोज्यो ।
दिक्क भएर
नयाँ हावाले
परिवेशलाई शीतल दिन खोज्यो ।
तर
सायद कुकुरलाई घिउ पचेन
हाम्रो विवेकले
सहज अवतरणको मार्ग रोज्न सकेन
कुर्सीको लालसाले
मेरो मन कलुुषित बन्यो
कुर्सीको लालसाले
तिम्रो मन कलुषित बन्यो
र फेरि
बुद्ध खोपामा थन्किए
अनि
विगतमा कहिल्यै नदेखिएको विषालु झार
कतै नाकहरूको आड लागेर
कतै धोतीले बेरिएर
र कतै टोपीले छोपिएर
सिमानाहरू नाघ्दै फैलियो ।
हो,
शान्तिको रोदन प्रतिध्वनित भइरहेछ परिवेशमा
तर हामी
त्यसलाई आफ्नै रोजाईको संगीत भन्ठान्दै
केवल
पागलहरूको निरर्थक नृत्यमा जुटिरहेछौँ ।
यसरी
आज
हामी सबै मिलेर शान्तिको हुर्मत लिइरहेछौँ ।
त्यो आफ्ना कोमल हातहरूले
हामीलाई सुम्सुम्याउन खोजिरहेछ
तर हामीभने
चौबाटोमा लगेर
त्यसलाई सिस्नुपानीले चुटिरहेछौँ ।
हामीले यसबेला साँच्चै नै
आ–आफ्ना निकृष्ट चाहनाहरूको सम्मानका खातिर
शान्तिको इज्जत लुटिरहेछौँ ।
हो,
शान्तिको रोदन प्रतिध्वनित भइरहेछ परिवेशमा
तर हामी
त्यसलाई आफ्नै रोजाईको संगीत भन्ठान्दै
केवल
पागलहरूको निरर्थक नृत्यमा जुटिरहेछौँ ।
वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:४८ मा प्रकाशित






























