back
CTIZAN AD

कसरी गर्ने भूमिसुधार ?

वि.सं.२०७९ वैशाख २६ सोमवार

1.7K 

shares

“भूस्वामित्वमा व्यापक खण्डिकरण भैसकेको छ । अब ठूलो आकारको भूमिमा स्वामित्व कायम भएका ठूला भूस्वामीहरु छैनन् । अवशेषका रूपमा सामन्तवाद रहे पनि समाजको मूल व्यवस्था र प्रवृत्तिमा पूँजीवादीकरण भैसकेको छ । अब भूमिसुधार गरेर भूमिको पुनर्वितरण गर्नुपर्ने आवश्यकता छैन । उत्पादन प्रविधिलाई वैज्ञानिकीकरण गरेर उत्पादनको वृद्धि गर्ने र कृषि श्रमिकलाई न्यायोचित पारिश्रमिक दिने अबको आवश्यकता यही नै हो ।”

आजकल आफूलाई निकै क्रान्तिकारी ठान्ने कतिपय कम्युनिष्ट नेताहरुले समेत यस्तो धारणा बनाउन पुगेको भेटियो । तर, यस्ता अधिकांश धारणामा सहमत हुन सकिन्न ।

वर्तमान भूस्वामित्वको अवस्था

पंक्तिकारले २०७४ साल जेष्ठदेखि २०७७ साल चैत्रसम्म पटक–पटक गरी एक हिमाली, केही पहाडी र तराईका गाउँबस्तीहरुमा स्थलगत नमुना अध्ययन गरेको छ । मेरो अध्ययनको विषय दासत्वसँग सम्बन्धित बाँधा वा बाध्यकारी श्रम अवस्थाहरु हुन् । तर यिनको सम्बन्ध भूस्वामित्वसँग पनि रहेको हुँदा यी ठाउँहरुमा रहेका भूस्वामित्वको अवस्थाका बारेमा पनि प्राप्त हुन सकेसम्म जानकारी लिने प्रयास गरेँ । यो व्यापक र गहन अध्ययन थिएन । तथापी यस सम्बन्धमा मैले पाउन सकेको थोरै उदाहरण यस प्रकार रहेको छ –

नेपालमा अहिले पनि आफ्नो आवश्यकताभन्दा धेरै भूमिमा स्वामित्व कायम राखेका भूस्वामीहरु बाक्लै रहेका छन् । यस्ता अधिकांश भूस्वामीहरुको स्वामित्वमा ५ देखि २५ हेक्टरसम्म भूमि कायम रहेको पाइन्छ । अझ कतिपयले त योभन्दा धेरै भूमिमा कब्जा जमाइरहेको पनि पाइन्छ । उदाहरणको रुपमा बारा जिल्ला गडहलका गंभीरा साहका परिवारजनसँग अहिले पनि १४ सय विगाह (लगभग १ हजार हेक्टर) भूमिमा स्वामित्व रहेको पाइएको छ । यो परिवार अपवाद हुन सक्छ । यति ठूला भूस्वामीहरु अन्यत्र नहुन सक्छन् तर, ५० देखि १०० हेक्टरसम्म भूमि ओगटेका भूस्वामीहरु भने फाटफुट रूपमा प्रत्येक जिल्लामा पाइन्छन् । तर यी बाठा भूस्वामीहरुले विभिन्न व्यक्ति विशेषको नाममा दर्ता गरेर पछिल्लो भूमिसुधारबाट निर्धारित क्षेत्रफलभन्दा बढी भूमि देखाएका छैनन् ।

अभिजात र सम्भ्रान्त तहका यस्ता भूस्वामीहरुमध्ये धेरैजसो अनुपस्थित छन् । यी आफ्नै देशभित्रका ठूला शहरी बस्तिहरुमा, त्यहाँका घडेरीयोग्य महँगा जग्गाहरु पनि आवश्यकताभन्दा धेरै लिएर, सुन्दर हवेलीहरु बनाएर सुविधासम्पन्न जीवन बिताइरहेका छन् । यसरी शहर बसाइँ सर्दा यिनले आफ्नो गाउँको जग्गा बेचेर शहरी सुविधाका लागि उपयोग पनि गरेका छन् । अझ कतिपय त संसारका विकसित मुलुकहरुमा पुगेर त्यहीँ नै कुनै रोजगारी वा व्यवहायहरु गरेर पनि बसेका छन् । यस्ता ठूला भूस्वामीहरुमध्ये निकै थोरै मात्र आफ्नो खेतीयोग्य भूमि रहेको पुरानो थाथथलोमा बसोबास गरिरहेको पाइन्छ ।

यस्ता भूस्वामीहरु सामन्तहरुकै सन्तान हुन् । तर यी हिजोका सामन्तहरुजस्ता पूर्णरूपले कृषिनिर्भर छैनन् । यिनिहरुमध्ये कतिपय राजनीतिक नेता, मन्त्री, सांसद, विभिन्न संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, व्यापारी र व्यवसायी, ठेकदार, प्राज्ञ आदि रहेका छन् । यस्तहरुमध्ये अधिकांशले विभिन्न पेशा व्यवसायबाट वैध वा अवैध रुपमा मनग्य धनसम्पत्ति सोहोरेर थुपारेका छन् । यिनलाई आफ्नो भूमिबाट आउने आयस्तासँग खासै सरोकार छैन ।

यिनले आफ्नो स्वामित्वको अधिकांश भूमि स्थानीय किसान वा कृषिजन्य व्यवसायीहरुलाई बटैया वा ठेक्कामा दिएका छन् भने अझ कतिपयले त त्यत्तिकै बाँझै छाडेका पनि छन् ।

भूमिहीन कृषिश्रमिक र गरिब किसानहरु

खस–ब्राह्मणमध्येमा पनि कतिपय भूमिहीन र गरिब किसान (आफ्नो स्वामित्वको जग्गाबाट बढिमा ३ महिना खान पुग्ने) नरहेका हैनन् तर, दलित (बढी तराईका) तथा आदिवासी–जनजातिअन्तर्गतका जनताहरु धेरैजसो भूमिहीन र गरिब किसानको अवस्थामा रहेका छन् । कृषि उत्पादनको क्षेत्रमा पहाडका भीरपाखा बाहेकका जग्गामा कृषिउपकरणको प्रयोग बढेकाले मानवश्रमको आवश्यकता कम भएको छ । त्यसैले हिजो कृषिमा आधारित श्रममा निर्भर कृषिश्रमिकहरु रोजगारीका लागि अन्य विभिन्न श्रम क्षेत्रमा संलग्न हुन पुगेका छन् । कतिपय भारतमा जोखिमयुक्त श्रमक्षेत्रहरुमा संलग्न भएका छन् भने कतिपय ऋण काडेर भएपनि मध्यपूर्वका मुलुकहरु र मलेसियामा समेत रोजगारी गर्न पुगेका छन् ।

आफ्नो भूमि नै नहुनु, निकै कम मात्र भूमि हुनु, बेरोजगारीको समस्या, श्रमशोषण र ठगीमा पर्नु, शिक्षा र चेतनाको अभाव, कतिपय गलत आनिबानी र राज्यबाट उपलब्ध हुनुपर्ने आधारभूत सुविधा (सडक, बिजुली, खाने पानी, स्वास्थ्य सेवा, शिक्षा आदी) आवश्यक रुपमा उपलब्ध हुन नसकेका कारण यस्ता श्रमिकहरुको परिवारजनको अवस्था निकै अभावग्रस्त र कष्टकर बन्न पुगेको पाइन्छ ।
म वास्तविक संख्या किटान गर्न सक्दिन । तर मैले गर्न भ्याएको अध्ययनको आधारमा भन्दा यस्तो अवस्थामा रहेका भूमिहीन र गरिब किसानहरु कुल जनसंख्याको लगभग ४० प्रतिशतसम्म रहेको अनुमान गर्न सक्छु म ।

कसरी गर्ने भूमिसुधार ?

१) गहन र सुक्ष्म अध्ययन गरी वर्तमान भूस्वामित्वको अवस्थाका बारेमा सत्य तथ्य आँकडा निक्र्यौल गर्ने ।

२) कृषियोग्य भूमिमा बटैया (अधिया) दिएर पनि खान पुग्नेसम्म र शहरी क्षेत्रका घडेरी योग्य जमिनमा प्रति परिवार बढीमा ५०० वर्गमिटर सम्मको हद तोक्ने । सो भन्दा बढी जग्गा सरकारले अधिग्रहण गर्ने । अन्य पेशा–व्यवसायबाट मनग्गे आमदानी गरिरहेका भूस्वामीलाई मुवाब्जा नदिने ।

३) यसरी अधिग्रहण गरी आएको र अन्य ऐलानी, सार्वजनिक, सरकारी, गाउँब्लक, गुठी आदि जस्ता खेतीयोग्य भूमि भूमिहीन र गरिब किसानमा आफैले राम्ररी खेती गर्दा वर्षभरी खान पुग्नेसम्मको हदमा निःशुल्क तर बेचबिखन गर्न नपाउने शर्तमा वितरण गर्ने । शहरी क्षेत्रमा अधिकरणबाट आएको जग्गा वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीमा न्यायोचित किसिमले निःशुल्क तर बेचबिखन गर्न नपाउने शर्तमा वितरण गर्ने ।

यसरी भूमिहीन र गरिब किसानहरुलाई आफ्नो भूमिको उत्पादनबाट सहज आजीवीका चलाउन सक्ने स्वाभिमानी कृषकमा विकास गर्ने । कतिपय आफुलाई क्रान्तिकारी ठान्ने ‘कम्युनिष्ट’ हरुले भनेजस्तो भूस्वामीहरुको ‘कामदार’ नबनाउने ।

४) सरकारको उच्च ओहदामा रहेका, ठूला राजनीतिक नेता बनेका, तथा अन्य विभिन्न पेशा व्यवसायको आवरण भित्र भ्रष्टाचारलगायत अनेकौ आर्थिक अनियमितता र चलखेल गरेकाहरुको सम्पत्ति जाँचबुझ गरी अस्वभाविकरूपमा संचित गरिएको सम्पत्ति सरकारले जफत गर्नुका साथै त्यस्तो व्यक्तिलाई आवश्यक कानूनी कारबाही गर्ने ।

५) यसरी जफत गरिएको सम्पति विपन्न जनताको उत्थानका लागि सदुपयोग गर्ने ।

६) कृषि, पशुपक्षी, वन र उद्योग मन्त्रालयअन्तर्गतका निकायहरुलाई विस्तार गर्नुका साथै ति निकायअन्तर्गका जनशक्तिको दक्षताको विकास गराई तिनकोे प्राविधिक सहयोगबाट व्यवसायमूलक आधुनिक कृषि (फलफुल, तरकारी, जडीबुटी आदि), पशु–पक्षिपालन र तत्सम्बन्धी उद्योगको विकास गर्ने । साथै खनिज, बनस्पतिलगायतका प्राकृतिक सम्पदाको सम्भाव्यता अध्ययन गरी उपलब्धताको आधारमा उत्खनन र संकलन गरी सम्बन्धित उद्योग व्यवसाय संचालन गर्ने । बनस्पतिजन्य सम्पदाको विकास र विस्तारमा जोड दिने ।

७) यस्ता भू–आधारित उद्योग–व्यवसायको विकास गरी स्वदेश भित्रै व्यापक रोजगारीको वृद्धि गर्ने ।

वि.सं.२०७९ वैशाख २६ सोमवार १२:४३ मा प्रकाशित

सुशासन, असल शासनको अभ्यास

सुशासन, असल शासनको अभ्यास

काठमाडौँ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले मुलुकको...

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

कोशी ब्यारेजको निर्माण भएको बेला जति स्थानीय नेपाली जनता र...

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

कुनै पनि व्यक्तिमा आफ्ना विश्वास (beliefs), मूल्य (values), दृष्टिकोण (attitudes)...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...