
काठमाडौं । धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।
हमालले कांग्रेसबाट मेयरको उम्मेदवार रहेका नृपबहादुर ओडलाइ झण्डै दोब्बर मतले हराउँदै जित हासिल गरेका हुन् ।
धनगढी उपमहानगरमा कूल खसेको ६३ हजार ७१५ मत मध्ये हमालले २६ हजार ८६५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी निर्वतमान मेयर तथा गठबन्धनबाट साझा उम्मेदवार कांग्रस नेता ओडले १४ हजार ८१७ मत मात्र प्राप्त गरेका छन् ।
त्यस्तै एमालेबाट मेयरका उम्मेदवार रहेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेर तेस्रो स्थान बनाएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा ओडसँगै २७०० मतले पराजित भएका हमाले यो पटक भने ओडलाई झण्डै दोब्बर मतले हराउँदै मेयरमा विजयी भएका हुन् ।
त्यसैगरी उपमेयरमा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी छन् । रानाले १५ हजार ४७९ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रकी शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरेकी थिइन् । साथै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीले ६ हजार ६०९ मत प्राप्त गरेका छन् ।
धनगढी उपमहानगरभित्र रहेका १९ वडामध्ये १,२,३,४,५,१४,१५,१७,१९,९ र १३ नं वडा गरी नेपाली कांग्रेसले ११ वटा वडामा जित हासिल गर्दा नेकपा एमालेले ७, ८, १०, ११, १२ र १८ तथा माओवादी केन्द्रले ६ र १६ नम्बर वडामा जित हासिल गरेका छन् ।