काठमाडौं । मगर संघ युकेद्धारा आयोजना हुने ओपन कन्सर्टको तयारी पूरा भएको छ ।
मगर संघ युकेद्धारा जुममार्फत् आयोजना गरिएको पत्रकार सम्मेलनमा आउदो २८ मईका दिन फार्नबोरो फुटबल कलबमा ओपन कन्सर्टको आयोजना गरिएको जानकारी दिइएको हो ।
संघले सन् २००७ देखि हरेक बर्ष आयोजना गर्दै आएको कन्सर्ट दुईवर्षसम्म कोभिड–१९ का कारणले संचालन हुन सकेको थिएन । कन्सर्टका प्रमुख संयोजक तथा बरिष्ठ उपाध्यक्ष लाल पुनले यसवर्षको ओपन कन्सर्टको लागि सम्पूर्ण कार्यहरु तयारी पूरा भएको जानकारी दिएका छन् ।
मगर संघ युकेकी अध्यक्ष सीता पुन मगरको अध्यक्षतामा हुने उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतको लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, बिशेष अतिथि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुन रहने छन् भने अन्य अतिथिहरुमा हाम्पसायर काउन्टी काउन्सिलका काउन्सिलर, रसमुरबोरो काउन्सिलका मेयर, काउन्सिलरहरु लगायत बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु रहने बताइएको छ ।
संयोजक पुनले नेपाली ओपन कन्सर्टमा खानपिन लगायत बिभिन्न स्टलहरु रहने ब्यबस्था गरिएको जानकारी समेत दिएका छन् ।
संघका सांस्कृतिक सचिव तथा ओपन कन्सर्टका सांस्कृतिक संयोजक सरु गुरुङ रानाल उक्त कन्सर्टमा भ्वाइस अफ नेपालकी रनर अप तथा गायिका तारा श्रीस, नायक तथा सुप्रशिद्ध गायक प्रकाश सपुत र नेपाल आइडलका बिजयी भुपेन्द्र थापालगायत नेपालबाट बेलायत आएका थुप्रै कालाकारहरुको प्रस्तुति रहने बताए ।
संघकी अध्यक्ष पुनको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको महासचिव गुमानसिङ थापाले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष लाल पुनले जुममा उपस्थित पत्रकारहरुलाई स्वागत गरेका थिए।
सो जुम प्रेसमीटमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुबराज अर्याल, फोनिज युकेका अध्यक्ष गोमा राना, नेपाली समाचार डटकमबाट बिश्वदिप तिगेला, शीतलपाटीन्युजका सम्पादक बाचस्पचि रेग्मी लगायत बेलायतमा स्थापित संचार गृहका थुप्रै पत्रकारहरुको सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको सहजीकरण सांस्कृतिक सहसचिब नुनु पाइजा, प्रमुख संयोजक लाल पुन र अध्यक्ष सिता पुनले गरेका थिए ।

वि.सं.२०७९ जेठ ९ सोमवार १५:१७ मा प्रकाशित






























