
काठमाडौं । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम नजिता आउनेक्रम जारी छ । ७ सय ५३ पालिकामध्ये हालसम्म ७ सय ४५ पालिकाको नतिजा आइसकेको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरसहित ८ पालिकाको मात्रै मतपरिणाम आउन बाँकी छ । आयोगले जनाएअनुसार काठमाडौं महानगरसहित विभिन्न ७ पालिकाको मतगणना जारी छ । तर, बाजुराको बुढीगंगा गाउँपालिकामा विवादका कारण पुनः मतदान गर्ने कि मतगणना गर्ने बारे निर्णय हुन नसकेको आयोगले जनाएको छ ।
हालसम्मको परिणामअनुसार नेपाली कांग्रेसले ३ सय २५ पालिका जित्दै पहिलो दल बनेको छ भने २ सय ३ पालिका जित्दै एमाले दोस्रो र १ सय २१ पालिका जित्दै माओवादी केन्द्र तेस्रो दल बनेका छन् ।
हालसम्मको नतिजामा जनता समाजवादी पार्टीले ३० पालिका जित्दै चौथो दल बनेको छ भने एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले २० पालिका जित्दै पाँचौ दल बनेको छ ।
आयोगले जनाएअनुसार हालसम्म लोसपाले १६ र स्वतन्त्रसहित विभिन्न साना दलले ३० पालिकामा जितेका छन् ।
मतगणना जारी रहेकामा ७ मध्ये कांग्रेस ३, एमाले २, समाजवादी १ र स्वतन्त्र एक पालिकामा अग्र स्थानमा छन् । आयोलले भोलीसम्म अन्तिम परिणाम आउनसक्ने जनाएको छ ।
यी नतिजा आउन बाँकी स्थानीय तह
१. त्रियुगा नगरपालिका, उदयपुर
२. गरुडा नगरपालिका, रौतहट
३. फतुवा विजयपुर नगरपालिका, रौतहट
४. काठमाडौं महानगरपालिका, काठमाडौं
५. तुल्सीपुर उपमहानगरपालिका, दाङ
६. महाराजगन्ज नगरपालिका, कपिलवस्तु
७. तिलोत्तमा नगरपालिका, रुपन्देही
८. बुढीगंगा नगरपालिका, बाजुरा