
काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी तालमेल भएको थियो । एकातिर माओवादी केन्द्र र कांग्रेस मिलेर चुनाव लडेका थिए भने अर्कोतिर एमालेलगायतका दलहरु तालमेलमा थिए । निकै कडा प्रतिस्पर्धा भएको तत्कालिन निर्वाचनमा मेयरकी उम्मेदवार रेनु दाहाल जम्मा २ सय ३ मतान्तरले विजयी भएकी थिइन् । रेनुले ४३ हजार १२७ मत ल्याउँदा एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए । ०७४ मा माओवादी केन्द्रमाथि धाँधली गरेको आरोप पनि लागेको थियो ।
महानगरको नेतृत्व हत्याएको भएपनि माओवादी केन्द्र वडा तहमा भने निकै कमजोर देखिन्थ्यो । एमालेले १४, कांग्रेसले १२ वटा वडाको नेतृत्व जित्दा माओवादी केन्द्र ३ वटा वडामा मात्रै जित हात पार्न सफल भएको थियो ।
५ वर्ष अगाडि भएको निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि भरतपुरमा गठबन्धन बनेको थियो । पाँच दलीय गठबन्धन एकातिर र एमाले–राप्रपा अर्कोतिर भएका थिए । तर, ०७४ को निर्वाचन परिणामभन्दा धेरै फरक अहिलेको नतिजामा देखियो । पुनः मेयरमा निर्वाचित भएकी दाहाल यसपटक निकटम् प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर विजयी भइन् । दाहालले ५२ हजार २८ मत ल्याउँदा एमालेका सुवेदीले ३९ हजार ५८२ मत ल्याए ।
यसपटकको निर्वाचनमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको पक्षमा पनि बलियो मत गएको छ । मेयरका प्रतिस्पर्धी पौडेलले पनि १४ हजार ७२८ मत ल्याएका छन् । मेयरमा बढेको मतले भरतपुरमा माओवादी केन्द्र बलियो बन्दै गएको देखाउँछ ।
तर, वडालाई हेर्दा माओवादी उस्तै
मेयरमा दाहालले जित हाँसिल गरेपनि भरतपुरका वडाहरुलाई हेर्दा खास माओवादी केन्द्रको मत बढेको देखिएन । गठबन्धनका बाबजुद पनि माओवादी केन्द्रले वडाअध्यक्षको संख्या बढाउन सकेन । ०७४ मा तीन वटा वडाको नेतृत्व जितेको माओवादी अहिले पनि ३ वटा वडामै सीमित रह्यो । गठबन्धनको बाबजुद पनि माओवादीले वडा थप्न नसक्नु समग्रमा माओवादीको जनमत बढ्न नसकेको रुपमा हेर्न सकिन्छ ।
०७४ मा माओवादीले वडा नम्बर १२, २५ र २६ जितेको थियो । तर, अहिले २६ बाहेक यसअघि जितेका २ वटा वडामा पकड गुमाएको छ । यसअघि बलियो प्रतिस्पर्धी बनेको अन्य दुई वडा १३ र २४ मा भने माओवादीले जित हात पारेको छ । २९ वडा भएको पालिकामा मुख्यतः कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा भएको देखियो ।
भरतपुरमा विभाजित मनोविज्ञानका बाबजुद पनि कांग्रेसले ३ वटा वडाको नेतृत्व थपेको छ । यसअघि १२ वटा वडाको नेतृत्व जितेको कांग्रेसले एकल रुपमै १५ वटा वडाको नेतृत्व हात पारेको छ । कांग्रेसले यसपटक १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३ र २७ वडाको नेतृत्व जितेको छ ।
यता, ०७४ मा १४ वटा वडा जितेको एमाले भने ७ वडामा खुम्चिएको छ । एमालेले यसपटक ३, ११, १२, १८, १९, २८ र २९ वडाको नेतृत्व जित्यो ।
भरतपुरमा माओवादीको हैसियतमा एमाले विभाजनबाट बनेको एकीकृत समाजवादी पनि पुगेको देखियो । वडा तहमा माओवादीले ३ वटा वडा जित्दा एसले पनि ३ वटा वडा ७, ९ र २२ जितेको छ ।
एमाले अन्तरघातको फाइदा रेनुलाई
यसपटक उम्मेदवार छनोटको विषयले एमालेभित्र ठूलो अन्तरद्धन्द्ध देखियो । यसअघिका प्रतिस्पर्धी देवी ज्ञवालीलाई पाखा पन्छाएर विजय सुवेदीलाई ल्याउँदा एमाले विभाजित बन्यो । भरतपुरमा १० बुँदे समूहलाई पूर्णं पन्छाउँदै नेतृत्व छनोट गर्दा पनि एमालेलाई घाटा पुग्यो । जुन, मतपरिणाममा समेत स्पष्टै देखिएको छ ।
स्थानीय राजनीतिक नेतृत्व एमालेको मत रेनुलाई आएको बताउँछन् । एमालेभित्रको अन्तरद्धन्द्धको प्रभाव मेयरको चुनावमा परेको स्थानीय नेतृत्वको भनाइ छ । अहिले एमालेभित्र प्रायः सबै महानगरका उम्मेदवार छनोटको विषय विवादित छ ।
एसको सिंगो मत रेनुलाई, तर कांग्रेसको धेरै मत पौडेललाई
भरतपुरमा एमाले विभाजनको असर यसपटकको चुनावमा राम्रोसँग देखियो । एमालेबाट विभाजित भएर बनेको एसले भरतपुरमा माओवादीले केन्द्रले जस्तै वडाको नेतृत्व जितेको छ । माओवादी केन्द्रले ३ वटा वडा जित्दा एसले पनि ३ वटा वडाको नेतृत्व जितेको छ । कतिपय वडामा दोस्रो प्रतिस्पर्धी बनेको एसको जनमत भरतपुरमा बलियै देखिन्छ ।
मेयरमा आफ्नो उम्मेदवार नभएको कारण पनि एसले माओवादी उम्मेदवारलाई सहजै सहयोग गरेको पाइन्छ । यसपटकको चुनावमा एसको सिंगो मत पाउँदा पनि रेनुलाई मत बढाउन निकै सहज भएको छ ।
तर, भरतपुरमा कांग्रेसको बलियो मत भने बागी उम्मेदवार जगन्नाथ पौडेलको पक्षमा गएको देखिन्छ । यसअघिको निर्वाचनमा ५ हजार बढी मत उम्मेदवार नै नभएपनि कांग्रेसलाई गएकोमा यसपटक प्रष्टै रुपमा पौडेललाई गयो । पौडेललाई गएको मत कांग्रेसको प्रष्ट मत पनि हो ।
सम्बन्धित समाचार
आधार इलाका भनिएको कर्णालीमा किन कमजोर देखियो माओवादी ?
किन मधेशबाट बढारिन थाल्यो माओवादी ?