
काबुल । अफगानिस्तानमा छात्रालाई विद्यालयमा प्रतिबन्ध लगाइएको विरुद्धमा निरन्तर प्रदर्शन भइरहेको छ ।
तत्कालीन तालिवान विद्रोहीले सरकार गठन गरेपछि छात्रालाई विद्यालयमा पठन पाठनमा प्रतिवन्ध लगाएपछि लामो समयदेखि प्रदर्शन भइरहेको छ ।
छात्रालाई पठन पाठन गर्न दिनुपर्ने, महिलाका विभिन्न अधिकार कुण्ठित भएकाले त्यसको फुकुवा हुनुपर्नेलगायतका माग राख्दै आन्दोलन भइरहेको हो ।
अधिकारकर्मीहरूले झन्डै नौ महिनादेखि गर्दै आइरहेको प्रदर्शन बिहीबार पनि भएको समाचारमा जनाइएको छ ।
उनीहरूले महिलालाई खानासँगै काम र शिक्षा पनि दिनुपर्ने मागसहितको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
विद्यालय जान नपाएका छात्राले “शिक्षा हाम्रो अधिकार हो” भन्ने नारासहित तत्काल पढ्न पाउनु पर्ने माग गरेका थिए ।
पढ्न नपाउँदा अफगानिस्तानका लाखौँ बालिकाहरूको भविश्य अन्धकारमा परेकाले उनीहरूलाई पढ्न पाउने व्यवस्था गर्न देश भित्रका तथा बाहिरका अधिकारकर्मीहरूले निरन्तर माग गर्दै आएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय निकाय लगायतका धेरै अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले पनि बालिकाहरूलाई पढ्न दिन र महिलाहरूलाई रोजगारी लगायतका अधिकार उपभोग गर्ने वातावरण बनाउन पटक पटक आग्रह गरेका थिए ।
देशभित्र र बाहिरबाट पटक पटकका दबाबका कारण तालिबान सरकारले महिलाका अधिकार चाडै नै फुकुवा गर्ने प्रतिबद्धता दिए पनि अहिलेसम्म फुकुवा भएको छैन ।
तालिबानी उच्च अधिकारीहरूले भने महिला अधिकार, लोकतान्त्रिक मूल्य मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको दाबी गर्दै आएका छन् । तर व्यवहारमा भने त्यस्तो नदेखिएको आरोप लाग्दै आएको छ । एएनआई