काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले हरेक तीन वर्षमा घोषणा गर्दै आएको साहित्यदूत सम्मान, उत्कृष्ट शाखा र सक्रिय सदस्य घोषणा गरेको छ ।
महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको अध्यक्षतामा शनिबार बसेको विश्व केन्द्रीय समितिको नियमित बैठकले उक्त निर्णय गरेको हो । विश्वको १० उच्च हिमालहरूमध्ये ८ नेपालमा छन् जसले विश्वमा नेपाललाई चिनाउने गर्दछन् ।
नेपाली भाषा–साहित्यको क्षेत्रमा त्यस्तै अमूल्य योगदान गरेका ८ जनालाई महासङ्घद्वारा तीन वर्षमा एकचोटी साहित्यदूत सम्मानले विभूषित गर्ने गरिएको छ । यसपटक विनेसाम साहित्यदूत सम्मान – २०२२ ले सम्मानित भएका छन् ।
को -को सम्मानित भए त ?
महासंघका अनुसार विनेसाम साहित्यदूत सम्मान सगरमाथा – पूर्वराजदूत श्री भीम उदाश, काठमाडौ, विनेसाम साहित्यदूत सम्मान कञ्चनजङ्घा – कुलपति प्रा. डा. गङ्गाप्रसाद प्रसाईं, त्रिपुरा विश्वविद्यालय, भारत, विनेसाम साहित्यदूत सम्मान ल्होत्से– प्रा. डा. दिवाकर प्रधान, काशी हिन्दू विश्वविद्यालय, भारत, विनेसाम साहित्यदूत सम्मान मकालु – सहप्राध्यापक डा. ज्ञानु अधिकारी, काठमाडा,ै विनेसाम साहित्यदूत सम्मान चोयु – दीपा एवाई राई, हङकङ, विनेसाम साहित्यदूत सम्मान धौलागिरी – तिलक पोख्रेल, म्यान्मार, विनेसाम साहित्यदूत सम्मान मनास्लु – कर्ण गुरुङ, अमेरिका र विनेसाम साहित्यदूत सम्मान अन्नपूर्ण – डा. मुलीवीर राई, बेलायतलाई गरिएको छ ।
भारत शाखा उत्कृष्ट बन्यो
त्यसैगरी उत्कृष्ट शाखाकालागि विश्वको विभिन्न देशमा रहेका शाखाहरूबाट प्राप्त विवरणको आधारमा सबै शाखाहरूका गतिविधिलाई हेरेर विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ भने साहित्यिक सक्रियतालाई मध्यनजर गर्दै विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण बेलायत शाखाका सचिव अमित थेबेलाई सक्रिय सदस्य घोषणा गरिएको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको संयोजकत्वमा उपाध्यक्ष डेन्जोम साम्पाङ र महासचिव सुनिता राई कन्दङ्वा रहेको तीन सदस्यीय छनौट समितिले उत्कृष्ट शाखा र सक्रिय सदस्य चयन गरेको हो । छनौट समितिले पेश गरेको प्रस्तावमाथि गम्भीर छलफल गरी निर्णयमा पुगिएको बताइएको छ ।
नयाँ कार्यसमितिका लागि समिति निर्माण
महासङ्घको कार्यकाल सकिन लागेकोले बैठकले अब बन्ने नयाँ समिति कस्तो बनाउने भन्ने सम्बन्धमा गृहकार्य गर्न वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको संयोजकत्वमा सल्लाहकार प्रा. डा. भीम खतिवडा, डा. मधु माधुर्य, उपाध्यक्ष डेन्जोम साम्पाङ, महासचिव सुनिता राई कन्दङ्वा र सचिव डा. मनमुर्ती भुर्तेल रहेको ६ सदस्यीय परामर्श समिति गठन गरिएको छ ।
उक्त समितिमा संयोजकले आवश्यकता अनुसार सदस्यहरू थपघट गर्न सक्ने बताइएको छ ।
सल्लाहकारहरु प्रा. डा. भीम खतिवडा, नेपाल, प्रा. डा. कविता लामा, सिक्किम, डा. मधु माधुर्य, अमेरिका तथा अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, भारत, वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्ले, ताइवान, उपाध्यक्ष डेन्जोम साम्पाङ, अमेरिका, महासचिव सुनिता राई कन्दङ्वा, इजरायल, सचिव डा. मनमुर्ती भुर्तेल, रसिया, कोषाध्यक्ष के बी पौडेल, काठमाडौ, सदस्यहरु गोविन्द गौतम, रसिया, डा. नाज सिंह, दिल्ली, कल्पना पौडेल, नेपाल, मोहनराज खनाल, म्यान्मा, राहुल राई बोगिको, भारत, अमित चाम्लिङ, कुवेतलगायतको उपस्थिति रहेको उक्त बैठकमा महासङ्घका केन्द्रीय सदस्य तथा म्यान्मा शाखाका अध्यक्ष मोहनराज खनालको आमाको मृत्युमा शोक व्यक्त गर्दै श्रद्धान्जलि अपैण गरिएको छ ।
वि.सं.२०७९ जेठ १५ आइतवार १५:३३ मा प्रकाशित






























