काठमाडौं । तारा एयरको ९–एनएईटी ट्विनअटर विमानले आइतबार बिहान ९ः५५ बजे पोखराबाट उडान भरेको थियो । आइतबार विमानको यो तेस्रो उडान थियो । तर, उडान भरेको केही समय (१२ मिनेट)मै विमान सम्पर्क बिहीन भयो । विमानले जोमसोम विमानस्थलमा १०ः२० बजे अवतरण गर्नुपर्ने थियो तर, विमान सम्पर्कमा गएन ।
आइतबार दिनभर सम्पर्क विहीन विमानको खोजी भयो । फिस्टेल एयर र सेनाको हेलिकोप्टरले दिनभर जसो विमानको खोजीमा जुटे । तर, मौसम प्रतिकुल हुँदा हराएको विमानको कुनै निधो भएन । स्थानीयले कुनै ठूलो विस्फोट भएको सुनेको कारण धेरैको आशंका विमान धौलागिरी हिमालको आसपास ठोकिएको हुनसक्ने भन्ने थियो ।
पाइलटको मोबाइल नेटवर्कले काम गरेको भेटिएपछि भने खोजी कार्य नेटवर्कलाई पछ्याउँदै गरिएको थियो । तर, मौसम प्रतिकुलताका कारण आइतबार दिनभर नै खोजीकार्य सम्भव भएन ।
सोमबार बिहान यार्सा खोज्न गएका केही स्थानीयले हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटेका थिए । उनीहरुले निकै कहालीलाग्दो अवस्थामा विमान भेटेका थिए । थासाङको सानोसरे भीरमा भेटिएको विमानका सबै यात्रु मृत भेटिएका छन् । धेरैको शरीर क्षतविक्षत अवस्थामा भेटिएको नेपाली सेनाले जनाएको छ ।
२२ जनाको ज्यान जानेगरि भएको ठूलो दुर्घटना यो रुटमा पहिलो भने होइन । यसअघि ७ वर्ष अघि मात्रै यही रुटमा तारा एयरको अर्को जहाज पनि दुर्घटनामा परेको थियो ।

१० वर्षमा ठूला तीन दुर्घटना
पोखरा–जोमसोम हवाई रुटमा ७ वर्ष अघि १२ फागुन २०७२ मा तारा एयरकै जहाज दुर्घटनामा परेको थियो । मौसम प्रतिकुलताका बाबजुत उडेको पोखराबाट जोमसोमका लागि उडेको जहाज म्याग्दीमा दुर्घटना भएको थियो । दुर्घटनाबाट २३ जनाले ज्यान गुमाएका थिए ।
१ जेठ २०६९ मा पनि अग्नि एयरको विमान जोमसोममा दुर्घटनामा परेको थियो । विमानस्थल नजिकै पानी टंकीमा ठोक्किँदा १५ जनाले ज्यान गुमाएका थिए ।
त्यसअघि, २०७३ साल भदौमा तारा एयरकै जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीमा खस्यो । तर तत्कालीन समयमा मानवीय क्षति भएको थिएन ।
पोखरा–जोमसोम रुटमा निरन्तर दुर्घटना
अग्नि एयरको जहाज दुर्घटना भएको १० वर्ष अघि ३ भदौ २०५९ मा जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै, २०५६ सालमा पनि जोमसोम रुटमै पर्ने म्याग्दीको नारच्याङमा लुम्बिनी एअरको विमान दुर्घटना हुँदा चालक दलसहित १८ जनाको ज्यान गएको थियो ।
वि.सं.२०७९ जेठ १६ सोमवार १३:४६ मा प्रकाशित






























