कोलम्बो, श्रीलङ्का । चरम आर्थिक सङ्कटबीच श्रीलङ्का सरकारले एक हप्ताका लागि सबै विद्यालयहरू बन्द गर्ने घोषणा गरेको एक स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
श्रीलङ्काको शिक्षा मन्त्रालयलाई उद्धृत गर्दै डेली मिररले लेखेकोे छ, “लामो समयसम्म विघुत् कटौतीका कारण भएको असुविधाका कारण कोलम्बो सहरको सीमाका साथै अन्य प्रान्तका मुख्य सहरहरूका सबै सरकारी तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द रहनेछन् ।”
मन्त्रालयका सचिव निहाल रणसिङ्घेले भने, “विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गर्दै डिभिजनस्तरका विद्यालयहरूले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई यातायातको कठिनाइले असर नपर्ने अवस्थामा कम सङ्ख्यामा विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न पाइने बताउनुभएको छ ।”
उनले अनलाइन शिक्षण सुविधा दिन बिहान ८ बजेदेखि १ बजेसम्म विद्युत् कटौती नगर्न प्राधिकरणसँग सहमति भएको पनि बताए ।
पहिले मध्यम आय भएको देश श्रीलङ्का सन् १९४८ मा स्वतन्त्रत भएपछि यसवर्षको मार्चदेखि आर्थिक सङ्कटको चपेटामा परेको छ । कडा विरोधका कारण राजनीतिक अशान्ति उत्पन्न भएको छ । राष्ट्रपति गोताबाय राजपाक्षका भाइ महिन्दा राजपाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएपछि मे महिनामा रनिल विक्रमसिङ्हेलाई देशको प्रधानमन्त्री नियुक्त गरेका थिए ।
मे महिनामा खाद्यान्नको मुद्रास्फीति ५७.४ प्रतिशत रहेको थियो भने प्रमुख खाद्य वस्तुहरूको अभावका साथसाथै खाना पकाउने, परिवहन र उद्योगका लागि इन्धनको अभाव व्यापक रहेको छ । दैनिकरूपमा विद्युत्को अभाव भएको छ ।
उत्पादनका लागि आधारभूत आगतको उपलब्धता नपुगेको, सन् २०२२ मार्चदेखि मुद्राको ८० प्रतिशत मूल्य ह्रासका साथै विदेशी सञ्चितिको अभाव र आफ्नो अन्तर्राष्ट्रिय ऋण दायित्व पूरा गर्न मुलुक असफल भएका कारण अर्थतन्त्र तीव्र सङ्कुचनको अवस्थामा रहेको छ । एएनआर्ई
वि.सं.२०७९ असार ६ सोमवार ०७:४१ मा प्रकाशित






























