काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जर सम्झौता भएको छ । यी दुई बैंकबीच आज (असार २९ गते) बुधबार गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त समझदारी पत्रमा हिमालयनको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिलको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् । सिभिल बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले सिभिलले अगाडी राखेको सर्त मान्न हिमालयन बैंक तयार भएको भन्दै हिमालयनसँग प्राप्तिमा जाने निर्णय गरेको थियो । सोहि अनुसार आज मर्जर तथा प्राप्ति सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार प्राप्ति पश्चात बन्ने बैंकको नाम हिमालयन बैंक नै हनेछ भने सिभिलको नाम विलय हुनेछ । त्यस्तै संचालक समितिमा पनि हिमालयन बैंकको संचालक मात्र रहनेछन् ।
कर्मचारी तर्फ हिमालयन बैकका अशोक शमशेर राणा नै सीईओ बन्नेछन् भने सिभिल बैंकका सीईओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीईओ हुनेछन्। त्यस्तै दुवै बैंकबीच कर्मचारी समायोजनमा पनि सहमति जुटेको छ । कर्मचारी समायोजन गर्दा खाईपाई आएको तलब सुविधा घट्नेछैन भने समान पदमा समायोजन हुनेछ।
हिमालयन र सिभिलबीच स्वाप रेसियो १००ः८१ हुने सहमति जुटेको छ । जस अनुसार सिभिल बैंकको १०० कित्ता शेयर हुनेले प्राप्तिपछि बन्ने हिमालयन बैंकको ८१ कित्ता शेयर पाउने छन् ।
वि.सं.२०७९ असार २९ बुधवार १६:५८ मा प्रकाशित





























