जीवित खड्का मगर, गुल्मी
हाल : युएई, दुबई
म, सिता !
तपाईंकी धर्मपत्नी
यदी मैले दनदनी बलिरहेको
आगोमा हाम्फाल्नैपर्छ भने
यी सारा मानिसहरूले
सुन्नेगरी केही त मैले बोल्नैपर्छ ।
म कठोर वनबासको दुखबाट उन्मुक्ति पाउन
बेपत्ता भएकी थिइनँ
म सुनको दरबारमा
महारानी बन्नलाई
पुष्पक विमानमा उडेकी थिइनँ
झुक्याएर अपहरण गरियो
रावणको शक्तिसँग प्रतिकार गर्ने
मसित सामथ्र्य छँदै थिएनँ ।
सधैं लङ्का दरबार नजिकै बग्ने समुद्र
जमीनमा नभई मेरै आँखाको किनारमा उक्लेर
बगिरहे जस्तो लाग्थ्यो
वरिपरि देखिने ती भीमकाय पहाडहरू
मेरै छातीभित्र अनन्त पीडा बोकेर
उभिइरहे जस्तो लाग्थ्यो
हे पतिदेव !
क्षितिजभन्दा पर फैलिएको समुद्र
यो आँखामा कहिले सम्म बगिरहन्छ ?
हरबखत देउता मानेर
पूजा गरिरहन्थेँ मेरो हजुरलाई मन मन्दिरमा
कहिले बाहिर निस्कुँला र मेरो
हजुरसित भेट होला भनी
हरबखत जपना गरिरहन्थे
कस्सम हजुर !
हजुरले सोंचेजस्तो
हजुरले सम्झेजस्तो
लङ्का दरबारभित्र रावणबाट कहिल्यै
कु–दृष्टि, दुर्व्यव्यबहार सहनुपरेन
भौतिक यातना भोग्नैपरेन ।
यत्तिमै मेरो हजुरले
सतित्वमाथि शङ्का गर्नुभो,
म प्रति यत्रो पाप सोंच्नुभो ?
सोंच्नु नै थियो त…
रावणसित युद्ध गर्नुभन्दा पहिले
मेरो छातीमा धनुवाण हानिदिए हुन्थ्यो ।
अब तपाईँले सत्यकुरा भन्नैपर्छ…
के रावणले युद्ध गर्नकै लागि अपहरण गरेका थिए ?
युद्धमा कति हजार निहत्था मान्छे मारिए ?
किन बोल्नुहुन्न तपाईं ?
मेरो प्रश्नको जबाफ खोइ !
जतिखेर रावणको बन्धकमा थिएँ
र, तपाईँसितको बिछोडमा
जति पीडा भोगिरहेकी थिएँ
त्यो भन्दा बर्ता मानसिक
प्रताडनाले आहत भएकी छु अहिले ।
तर कहिले सोंच्नुभो…
रावणले मलाई अपहरण गर्नुको बाध्यता के थियो ?
कि उसको अप्सराजस्ती बहिनी सुपर्णखाँलाई
कसले बलात्कार गरेको थियो ?
कसले ?
मग्मगाउंदी फूलजस्ती बहिनी बलात्कृत हुँदा
कुन दाजुको मन रूँदैन, बदलाको भाव हुँदैन ?
अब तपाईँले सत्यकुरा भन्नैपर्छ…
के रावणले युद्ध गर्नकै लागि अपहरण गरेका थिए ?
युद्धमा कति हजार निहत्था मान्छे मारिए ?
किन बोल्नुहुन्न तपाईं ?
मेरो प्रश्नको जबाफ खोइ !
यतिखेर तपाईं
अयोध्या नगरबासीहरूको आदर्श राजा मानिनुहुन्छ
एक आदर्श पुरुषले आफ्नै धर्मपत्नीको
सतित्वमाथि शङ्का गर्छ
र, अग्निपरीक्षा जस्तो कडा
फैसलाको वकालत गर्दछ भने,
अब म पनि आगो बोकेर
आगोमा होमिएँ …!
वि.सं.२०७९ भदौ ११ शनिवार ०८:३२ मा प्रकाशित






























