शारदा घिमिरे भैल, बनेपा, काभ्रे
१
मगमगाउँदै लालीगुराँस गम्कोस् डाँडामा
स्वर्ण आभा छरेर रवि चम्कोस् डाँडामा
नेपाली मुटुमा देशको नक्सा कोरिनु पर्छ,
साहसीका कदम सधैँ लम्कोस् डाँडामा ।
२
रोक्दै रोकिदैन् मौरीहरु हेर परिश्रममा छन्
मान्छेहरु यहाँ आफैले पालेका भ्रममा छन्
कयौं पाठ सिकायो यहाँ प्रकृतिले सधैंभरि,
गन्तव्यसम्म नपुग्दै यात्री फर्कने क्रममा छन् ।
३
मन मस्तिष्क शुद्धि गराउने मन्त्र रहेछ
चाहेको अनुरुप पनि गराउने तन्त्र रहेछ
विकास यहाँ सम्म भएको छ संसारमा,
इसाराले विनाशनै गराउने यन्त्र रहेछ ।
४
माना रोपेर मुरी फल्छ सोच्छ किसान
गरिबीले कसरी चल्छ सोच्छ किसान
बजार भाउ चुलिएको झन् हुन्छ हैरानी,
चिसो चुलो कहिले बल्छ सोच्छ किसान ।
५
दाजुभाइ एक आपसमा लडेर के हुन्छ
व्यवहारमा नल्याउने ज्ञान पढेर के हुन्छ
कमलो आमाको दुखेको छामेर हेर मुटु,
दुई चार दिन अरुको बुइँ चढेर के हुन्छ ।
वि.सं.२०७९ मंसिर २४ शनिवार ०९:०७ मा प्रकाशित






























