उमेश बहादुर बिश्वकर्मा सागर
नरहरिनाथ, कालिकोट
१
सधैँ मलाई सम्झाएर, बुझाएर आमा भन्नु हुन्छ ।
एउटी राम्री युवतीलाई देखाएर आमा भन्नु हुन्छ ।
असाध्यै राम्रो शील स्वभाव कि रैछिन यी नानी,
भित्र्याउनु पर्छ बुहारी बनाएर आमा भन्नु हुन्छ ।
२
दुःख पीडा टाढा सर्ने सुई लगाई दिनुहोस् ।
बरू मलाई लाखौं पर्ने सुई लगाई दिनुहोस् ।
घरखेत बाढीले बगायो बाको सम्पति सकियो,
डाक्टर साहब अब मर्ने सुई लगाई दिनुहोस् ।
३
हाम्रा देशका नेताज्यूकै जिन्दगी हराभरा देखिन्छ ।
यहाँ दुःखीको सधैं भने जिन्दगी कठैबरा देखिन्छ ।
बाढी आउँछ र घर खेत सबै बगाउँछ जनताहरुको,
दुर्गम बस्ति कर्णालीमा सधैं मात्र खतरा देखिन्छ ।
४
सम्झिएर हरेक पटक रूने आदत परेको छ ।
छोडी जानेको तस्बिर छुने आदत परेको छ ।
यतिसम्म पछार्दाे रहेछ यार यो माया प्रेमले,
अचेल आँशुहरूले मुख धुने आदत परेको छ ।
५
नभन्नुहोस् अक्षरहरू दुईचार, परिवर्तन हुन सक्छ।
हट्छ अन्धविश्वास कुसंस्कार, परिवर्तन हुन सक्छ।
जस्तो शिक्षा स्वास्थ्यले समाजमा बिकास भए झैं,
यहाँ सहित्यबाट पनि संसार,परिवर्तन हुन सक्छ ।
वि.सं.२०७९ पुस २ शनिवार ०८:३६ मा प्रकाशित






























