
डा. विदुर चालिसे, काठमाडौँ
बकबास कथाको चरित्र चित्रण लघुकथाभित्र भइरहेको थियो । नाङ्गै सडकमा बौलाहा बनेर हिंडिरहेको सडक छाप नागा जगतेले जगात माग्दै करायो ।
‘प्रधानमन्त्री आयो ! आयो !! गयो !’
‘गयो ! गयो !! आयो प्रधानमन्त्री ! अर्थात् आयाराम गयाराम आउने जाने सबै हराम !’
दोब्रिएर लखतरान परेको जगतेले चाउरिएको मरिचको बखान गर्न लाग्यो । उसको आफ्नै आङ छाम्यो । गोडा सुम्सुम्यायो । निधार खुम्च्यायो । आँखा तन्कायो। उसले एकाएक मानसिक असन्तुलनमा सम्झ्यो ।
‘मरिचको गेडो !’
मरिचको जातै पिरो, आकारमा साह्रै सानो, प्रकारमा ज्यादै नै हलुको, राग निकैचर्काे, खपटे परेको, छाला सुकेको, जिरिङ्ग परेको, कालो अङ्गार झैं मरिचको गेडो व्यवहारमा साह्रै पिराहा थियो । जगतेले मरिचको गुण सम्झ्यो ।
‘यो त पैतालादेखि तालुसम्मको सर्दीको ओैषधी ।’
एकदिन सर्दी लागेको जोगीले मरिच खोज्न हिमालय पर्वतको छेउमा पुगेर भोले नाथसँग सोध्यो ।
‘मरिच र रिचमा के फरक छ ?’
‘एकजना मान हो, अर्काे म्यान हो !’
‘जात त उस्तै हो, तर स्वभाव फरक छ !’
‘भनाईको मतलब !’
‘उहिलेको मरिचले नाकाबन्दी सहन्थ्यो । अहिलेको रिचले मुखबन्दी भोग्छ, यही हो मतलब !’
जोगीलाई भगवानले गिल्ला गरेकोझैं लाग्यो । उसको कन्सिरी तातेर आयो । एक झोकमा उसले भगवानलाई निर्णय सुनायो ।
‘अप्रत्यक्ष उपनिवेश !’
त्यसपछि पागल जगते प्रधानमन्त्रीलाई पुजा गर्न एक पत्थर उभ्याएर भन्न थाल्यो ।
‘यही हो, जोगीको महादेवरूपी लिङ्ग !’
अचेल शिवलिङ्गबाट एक एक थोपा रगत पो तुर्किन थाल्यो ।
‘धम्की नदिए हुन्छ !’