
डा. पदमराज कलौनी ‘पराक्रम’
महालक्ष्मी, ललितपुर
अजम्बरी सौन्दर्यका प्रतीकहरू
अजरका चरणमा चढाउछन्
कोमल सुन्दर फूल क्षतविक्षत हुन्छन्
घामपानीको अभावमा सुक्छन्
तापले लत्रक्क लत्रिन्छन्
पारिजात बाहेक फूल झर्नै पाउन्नन्
सौन्दर्यमा टिपिने फूलहरु
वर माग्न बली चढ्छन्
बीउमा परिणत हुन पाउन्नन्
नियति गजबको छ फूलको
कहीँ विजेतामा चढ्छन्
कहीँ पूरूषार्थमा चुलिन्छन्
कहीँ लाशमा सजाइन्छन्
मालीले सन्तानझैँ हुर्काइएका फूल
मालीले वध गर्न तम्सिन्छ
हावाको स्पर्शले खितखिताउने
पत्रपत्रमा उनिन्छन्
सरकारी कामकाज लिन लाइन लागेजस्तरी
फूल झरेको कोपिला हेर्छ
फूलले कोपीला हेर्छ
वसन्त ट्युसन पढाउने मास्टर जस्तो
पास गर्न गारेन्टी दिए जस्तो
पालुवालाई फूल्न सिकाउँछ
भमरा पराग सेचन गर्छ
कसैले बलात्कृत भन्दैनन्
चोखो मानेर चढाउछन्
चिकित्सकले बाँझीलाई
वीर्यसेचन गरेझैँ
कति सिपालु छ वसन्त
वृक्ष वृक्ष नफुलेको कहाँ छ
जवानीको उन्माद चढाउछ
मायालु वसन्त सहर आउन छाडेछ ।