
म्यामराज राई, भोजपुर, हाल- जापान
इन्द्रजीत घरको एक्लो सन्तान थियो । आमाबुवाको बुढेसकालको सहारा । पारिवारिक स्थिति दयनीय थियो ।
अक्षरारम्भ गराए । बनिबुतो गर्दै पढाए । उसले मेहनतले पढ्यो । ऊ तीक्ष्ण दिमागको थियो । कक्षामा सबैलाई पढाइमा उछिन्थ्यो । ज्ञानी थियो ।
समयसँगै उमेर बढ्यो । सहरमा प्राविधिक शिक्षा पूरा गर्यो । उमेरसँगै प्रेमले बास लिन थाल्यो । प्रेमिकाको कुरो हुबहु मान्दै गयो ।
उसले हासिल गरेको शैक्षिक योग्यता भएको अनुसारको गाउँमा जागिर खुल्यो । जागिर खुलेको म्यादभित्र निवेदकहरू कोही आएनन् । त्यो गाउँं वरिपरि उसले पढेको विषय पढेकाहरू पनि कोही थिएनन् । आमाबुवाले छोरोको पढाइ सम्झे । आमाले एक हप्ता म्याद थप भएकोमा छोरोलाई बोलाइन् । इन्द्रजीतले आधा मुटु सहरमै राखेर जागिर खान गाउँं फर्क्यो ।
उसको भोलि जागिरको पहिलो दिन थियो । आमाबुवा आज्ञाकारी छोरोदेखि असाध्यै खुसी थिए । त्यही खुसियालीमा बुवाले मासुको व्यवस्था गर्यो । आमाले एक छाक चामलको जोहो गरिन् । निकै लामो समयान्तरमा तीनैजना सँगसँंगै खाना खान जुर्यो । खाए । सुते ।
इन्द्रजीतको बुवा भोलिपल्ट भालेको पहिलो डाँकोसँंगै पिसाबले च्यापेर शौचालय गए । उता घुर्यानको खनिउँंको बोटमा इन्द्रजीत झुण्डिरहेको थियो ।