काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा हाइप्रोफाइलकै संलग्नता खुल्दै जाँदा राजनीतिक वृत्तमा हलचल उत्पन्न भएको छ । विशेषगरी आफ्ना उच्च नेताहरु नै यस प्रकरणमा पक्राउ पर्न थालेपछि प्रमुख प्रतिपक्षी एमाले तरंगित बनेको छ ।
प्रहरीले यस प्रकरणमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रदिप थापा, पार्टी सचिव टोपबहादुर रायमाझी, रायमाझीका छोरा सन्दीप रायमाझी, नेता इन्द्रजित राईलगायतको नाममा पक्राउ पुर्जी जारी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा हालसम्म केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई, सन्देश शर्मा पोखरेल, इन्द्रजित राई, सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेका आरोपितको बयानअनुसार यस प्रकरणमा एमालेका अन्य नेताहरु पनि जोडिने अवस्था देखिएको छ । प्रहरीले अधिकारीहरुले जनाएअनुसार आरोपितहरुले तत्कालिन गृहसचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको पनि नाम लिएका छन् । यस प्रकरणमा एमाले महासचिव शंकर पोखरेलको पनि नाम जोडिएको छ । पक्राउ परेका सन्देश शर्मा पोखरेल शंकरका नातेदार हुन् ।
शरणार्थी प्रकरणमा एमालेको ठूलै समूह फस्ने देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली सक्रिय देखिएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै उनले यसबारे आफ्नो विरोध जनाएका थिए ।
ओलीले अनुसन्धान प्रक्रियामाथि सार्वजनिकरुपमै पनि असहमति जनाएका छन् । प्रचण्डलाई भेटेपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै ओलीले भनेका छन्, “तानिएको हो कि तनाइएको हो, यसबारेमा हामी अध्ययन गर्दैछौं, निर्दोषलाई फसाइए सह्य हुँदैन ।”
ओलीले यही प्रकरणमा आज पनि प्रधानमन्त्री प्रचण्डलाई भेट्ने तयारी गरेका छन् । ओलीले प्रकरणलाई रोक्ने ढंगले दबाब दिन खोजेको देखिन्छ ।
याे पनि…
अख्तियार प्रमुखको पनि नाम जोडिएपछि प्रचण्डलाई भेट्न पुगे ओली
प्रचण्डलाई ‘चिडियाखानामा’ थुन्ने चेतावनी दिने बादल आफैं त थुनिन्नन् ?
राजनीतिक लेनदेनको मुद्दा बन्ने खतरा
सत्ता गठबन्धन फेरिएसँगै प्रतिपक्षी बनेको एमाले हालको सत्ता गठबन्धनलाई तोड्ने प्रयासमा निरन्तर छ । एमाले नेतृत्वले प्रधानमन्त्रीकै विकल्प खोज्नेगरी पनि तयारी गरिरहेको छ । उपनिर्वाचन लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री नै बनाउन एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेका छन् । एमालेको प्रस्तावपछि रास्वपा सभापति लामिछानेले पनि सक्रियता बढाएका छन् । लामिछानेले विभिन्न दलका नेतृत्वसँग भेटघाट गरिरहेका छन् ।
लामिछानेलाई प्रधानमन्त्री बनाउने ओली प्रस्तावपछि प्रचण्डले सत्ता गठबन्धनको बैठक नै डाकेर सम्भावित घटनाबारे छलफल गरेका छन् । प्रचण्डले सत्ता गठबन्धनसँगको छलफलपछि रास्वपा लामिछानेसँग पनि छलफल गरेका छन् ।
ओलीको प्रस्तावकै बीच कांग्रेसले सरकारमा थप तीन मन्त्रीलाई पठाएको छ । घटनाक्रमकै बीच शरणार्थी प्रकरणले उचाई लिएको छ । कांग्रेस र माओवादीसहित सत्ता गठबन्धनका कुनै पनि दललाई असर नगर्ने यो प्रकरणलाई टुंग्याउन प्रधानमन्त्री सक्रियपूर्वक लागेका छन् । बिहीबार प्रचण्डले माओवादी सचिवालय बैठक नै डाकेर नक्कली शरणार्थी प्रकरणमा जोडिने कसैलाई नछाड्ने बताएका थिए ।
तथापी, घटनाक्रम जे पनि हुनसक्ने सम्भावना विद्यमान छ । माओवादी नेतृत्वलाई एकातिर सरकार जोगाउन छ भने अर्कोतिर संक्रमणकालिन मुद्दालगायतका विषयलाई पनि दलहरुबीच सहमतिबाटै टुंग्याउनुपर्ने छ । यस्तो अवस्थामा नक्कली शरणार्थी प्रकरणलाई राजनीतिक लेनदेनको मुद्दा बनाइँदैन भन्न सकिन्न ।
राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई दहरुले आफ्ना मान्छेलाई जोगाउन प्रकरणलाई राजनीतिक लेनदेनको विषय बनाउन सक्ने सम्भावना रहेको भएपनि यसमा निष्पक्ष छानबिनको विकल्प नरहेको बताउँछन् ।
“एमालेभित्रको पूर्वमाओवादी टिमलाई समातिरहँदा कतै एकपाखे ढंगले त अनुसन्धान भएको होइन भन्ने लागेको थियो, तर अहिले अन्य पनि समातिने अवस्था बनेको छ, धेरैका नाम जोडिएका छन्, सँगै धेरैका नाम जोडिँदा घटना थप राजनीतिक खालको पनि बन्ने खतरा बनिरहेको छ”, भट्टराईले भनेका छन्, “पृष्ठभूमिमा धेरै राजनीतिक मुद्दाहरु देखिएका हुनाले कतै लेनदेनको मुद्दा त बनाइन्न भन्ने पनि छ, तथापी जसरी घटना आएको छ, यसमा निष्पक्ष छानबिनको विकल्प देखिन्न ।”
सम्बन्धित समाचार
भुटानी शरणार्थी प्रकरण : थप तीन जनाविरुद्ध पक्राउ पुर्जी
एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई काठमाडौं ल्याइदैंं
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिक थापा भन्छन् – मेरो कुनै संलग्नता छैन
भुटानी शरणार्थी प्रकरण : पूर्व गृहसचिव टेकनारायण पाण्डे पक्राउ
वि.सं.२०८० वैशाख २२ शुक्रवार १५:३२ मा प्रकाशित






























