कृष्ण बाउसे
दूषित वायुको खाँडो जागेर
ज्वरो बढेको छ धर्तीको आङमा
उनलाई निको पार्न
हावा, पानी र घामका देवतालाई डाक्नु छ ।
उनलाई बढी दुःख दिएको त
कुवाको तेलमा बसेको छेदले नै हो
अब त्यसलाई ठिँगु¥याएर राख्नु छ ।
अर्को दोष
जो मनुवाका जीउमा चढेर
नदीमा मलमुत्र मिसाइ हिन्नेगर्छ हरदम
त्यसलाई अब उसको जिउबाट उतार्नु छ ।
पहाडलाई कोपर्दै हिड्ने
खेतबारीमा विष छर्दै हिड्ने
समुद्रमुनि र अन्तरीक्षमै पनि
जथाभावी बिगार गर्दै हिड्ने
विकास नामको मनोरोगलाई
जसरी पनि नियन्त्रणमा राख्नु छ ।
घामले
बिजुली बनाऊ भनेर दिइरहेकै छ आफ्नो तेज
सोलार प्यानलहरूमा बिराजमान गराएर
त्यो उपकारीको मान राख्नु छ ।
सिर्सिेरे हावा चलिरहने डाँडालाई
पङ्खाका गहनाहरूले सिँगारेर
पवन–ऊर्जाको स्वाद चाख्नु छ ।
मुखले मात्र ठिक्क नपारी
मनैले आमा मानेर
नदीलाई सफा पार्नु छ ।
फोहोर नपारी, धुवाँ–धुलो नउडाई
हामी सबै
सधैँ मिलेर बाँच्नुछ ।
हामी सबै
फूल भएर हाँस्नुछ ।
हामी सबै
नटराज भई नाच्नुछ ।
वि.सं.२०८० जेठ ६ शनिवार ०८:४४ मा प्रकाशित






























