दीनानाथ पोख्रेल, इलाम
भयो भाषा रोगी नयन अति दुख्छन् मुलुकमा ।
बनेँ विद्वान् ढोँगी खुद कुपथ लागेँ तुजुकमा ।।
जहीँ कालो जालो सलल गति बग्ने पथ टुट्यो ।
दशा उर्ल्यो ज्यादै सहज पथ थुन्दा उर फुट्यो ।।०१।।
सबै विद्वान् मान्छन् अकृत पथ बढ्दा टुकुटुकु ।
बिगारेँ यो भाषा विकृत मन खेल्छन् ढुकुमुकु ।।
स्वयम् बन्दा जान्ने बुधजन बने लज्जित अति ।
सधैँ रोजेँ उल्टो सरलपन काटेँ अझ खटी ।।०२।।
बिगारेँ भत्काएँ तर बुध बनेँं गर्व छ अति ।
चढेँ उक्ली आफैँ परजन कहाँ गर्दछ खती ?
छुटे देख्ने आँखा अनि खुद नदेख्ने अघि सरेँ ।
बचून् भन्थे पुर्खा तर सब तिनै अक्षर मरे ।।०३।।
क्रिया हो पृथ्वीको चहक पथ खोल्ने सुरसिलो ।
क्रिया बढ्दा उल्टो मुखमुदित भाषा थिलथिलो ।।
सयौँ लामा काटेँ शिर मुड बनाएँ वरपर ।
म के लेखूँ भन्छन् नव उदित मान्छन् अति डर ।।०४।।
सधैँ बाँच्छन् माने अघि बुध खटे अक्षर भरे ।
म आएँ उल्टाएँ अनि खुद अ काटेँ क्षर गरेँ ।।
बचूँन् भन्थे पुर्खा तर अब मरून् यो मन भरेँ ।
बिगारी भत्काएँ बुध चुप रहून् लौ क्षर गरेँ ।।०५।।
नजान्ने जो भन्छन् खल रिपु सरी गन्दछु यता ।
उचाल्ने जो मिल्छन् पवनलयमा उड्दछु म ता ।।
नकाट्ने जो काटेँ अनि सबल विद्वान् खुद बनेँ ।
छ काट्ने जो साँचेँ अबुझ बुध पार्ने पथ खनेँ ।।०६।।
बडो भन्छन् मान्छे मनखुस भरी रम्दछु म ता ।
नजान्ने हुन् मानी कथन कथुरी उठ्छु अब ता ।।
गरेँ लामा छोटा नव विधि दिएँ भन्दछु यही ।
हिँडेँ बाटो यस्तो खुद मन कहाँ मान्छ र सही ।।०७।।
छन्द ः शिखरिणी
वि.सं.२०८० जेठ ६ शनिवार ०८:४६ मा प्रकाशित






























