काठमाडौं । आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) को बार्षिक पिकनिक तथा बारबिक्यू कार्यक्रम बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमकासाथ भब्यरूपमा सम्पन्न भएको छ ।
बार्षिकरूपमा आयोजना गरिने यस कार्यक्रममा हरेक बर्ष केही आकर्षक मनोरञ्जनहरू पस्किएर सम्पन्न हुन्छन् । त्यसैगरि यस बर्षपनि बिभिन्न रोचक खेलहरूका साथै नेपालीपनले भरिपूर्ण परिकारका साथ न्यूयोर्कको क्विनस ब्रिज पार्कमा सम्पन्न भएको हो ।
कार्यक्रममा महिला र पुरूषका लागि अलग–अलग बिभिन्न रमाइला खेलहरू थिए भने बालबालिकाकालागि पनि बिभिन्न रोचक खेलहरूले मनोरञ्जन प्रदान गरेका थिए ।
न्यूयोर्कमा रहेका बिभिन्न नेपाली संघ सस्थाहरूका प्रमुख र प्रतिनिधीहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रम हरेक बर्ष नेपालीहरूबीचको भेटघाट, मनोरञ्जन लगायत नेपाली संस्कार, संस्कृति र नेपाली भाषालाई अमेरिकामै जन्मिएका नयाँ सन्ततिहरूमा हस्तान्तरण गर्ने उद्धेश्यले पनि आयोजना गर्ने गरेको संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङको भनाई छ ।

फिवना अमेरिकामा रहेका नेपाली आदिवासी महिलाहरूको संस्था भएपनि सम्पूर्ण आप्रबासी नेपाली महिलाहरू र नेपाली समुदायलाई नै अघि बढाउने उद्धेश्यले बिभिन्न गतिबिधीहरू संचालन गर्दै आएको पनि अध्यक्ष चोङबाङको भनाइ रहेको छ ।
यो कार्यक्रमले बिसुद्ध मनोरञ्जन मात्र प्रदान नगेरर फिवनाको दिगो बिकासको लागि पनि यसले मद्दत गरेको छ । फिवनाले आफ्नो समुदायका महिलाहरूलाई बिभिन्न सहयोगहरू जस्तै जनचेतना, शसक्तिकरण, एडभोकोसि लगायत बिभिन्न परिस्थितमा हुने समस्याहरूको समाधानको लागि पनि बिभिन्न पहलकदमी कार्यहरू गर्दै आएको छ ।
कार्यक्रममा उपस्थितहरूले नेपालका आदिवासी महिलाहरूले बनाएका मिठामिठा परिकार र बारबिक्यूका साथमा नेपाली भाकाका गीतहरू सककगै रमाइलो गर्दै नाचगान गरेर कार्यक्रमको अन्त भएको थियो ।
वि.सं.२०८० जेठ ३१ बुधवार १२:२७ मा प्रकाशित






























