काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उप–महानगरपालिका बाँके बिच बालिका लक्षित ‘बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना’ सुरु गर्ने विषयमा सम्झौता भएको छ ।
ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण गर्ने मुख्य उद्देश्यका साथ बैंक र उपमहानगरबीच यस्तो सम्झौता भएको हो ।
सो योजनाको मुख्य उद्धेश्य बालिकाहरुलाई बाल विवाह हुनबाट बचाउने र शिक्षामा निरन्तरता कायम राख्ने रहेकोले बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धतिखाता योजना कार्यान्वयनका लागि नेपालगञ्ज उप–महानगरपालिका विविध कोष अन्र्तरगत बालिकाहरुको नाममा मुद्दति खाता खोली कार्यविधि बमोजिमको रकम खातामा जम्मा गर्ने रहेको छ ।
बालिकाहरुको लागि बैंक खाता खोल्ने र उपलब्ध सबैभन्दा अनुकूल ब्याज दरमा रु पच्चीस हजारको मुद्दती निक्षेप राख्ने सहमति भएको हो ।
यस कार्यक्रमले बालविवाह घटाउन र यस क्षेत्रका युवा छात्राहरूको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्तवपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
कोषको उचित सदुपयोग सुनिश्चित गर्न, खातावालाहरूले नेपालगन्ज उपमहानगरपालिका, बाँकेबाट सिफारिस पत्र प्राप्त गरेपछि मात्र रकम झिक्न सक्नेछन । आफ्नो शिक्षा सफलतापूर्वक पूरा गर्ने र २० वर्षको उमेर अघि विवाह नगर्ने बालिकाहरुलाई मात्र सो पत्र जारी गरिनेछ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८४ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४१ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०८० असार ७ बिहीवार १२:०१ मा प्रकाशित






























