राधा पाण्डे, गैंडाकोट न.पा. नवलपुर
जब विपन्नताको पहिरोले
हर कदममा भास आउँछ
परिस्थितिको धापमा
भासिन्छन् सपनाहरु
निभ्छ हृदयको सलेदो
च्यापिएर/पुरिएर /
थिल्थिलिएर/पिलिन्छन्
अवरुद्ध हुन्छन्
खुशी, उमंग र चाहानाहरु
तब
एउटा गतिशील अवस्थाकै आत्माको
सिङ्गो अस्थिपन्जर दुखेर
दर्दले कहर छोड्छ/हुन्हुनाउँछ
पीडा खप्ने प्रयासको छट्पटीमा
पिढीं, चोटा र
आँगनमै पटकपटक
यो अर्धाङ्ग काया ठोकिँन्छ
दुखेर ठेस
दायाँबायाँ हेर्छ
लोलाउँछ नजर
ओहो !
आकासको जून
ऊ समीप आइदियो
जूनमै अडियो नजर
केही मत्थर भयो दर्द
खिसिक्क हाँसे झैं लागेपछि जून
हो,त्यही भरोसाले
एउटा धड्कनले लिन्छ निरन्तरता
कुच्चिएको मनको सन्दुकमा
भित्रिएझै लाग्यो एउटा मधुरो किरण
मनका खाली गह्रामा
बग्यो धमिलो आसा
सामिप्यमै आएर
माधुर्यताले बोल्छ कि झैं
त्यो जून !
फेरिअर्को बिहानीमा
आकासको सुर्यले पनि
यसरी थुम्थुम्याइदियो कि,
उज्यालो किरण केही सन्देश सहित आउने छ
र भन्ने छ
म बाटो छिचोल्न आएको हुँ
यस्तै,यस्तै भरोसाको भ्रम
केही आसाका मिठा पलको भ्रम
त्यो आकासको सुर्य
प्रारब्ध र नियतिको विस्तारमा
संवाद चलाउँछ कि झैं
कस्तो विस्वासीलो भ्रम
हो,
यसैगरी हेर्दाहेर्दै सुदुरको रोशनी
जीवनका उज्याला अंधेरा पक्षहरु सल्ल बगिरहे
फगत
यस्तै मीठो आसामा
आकासकै चन्द्र सुर्यको भरोसामा
पुन दोहोरीदै जिजीविषाको सिलसिलामा
समयका पाना पल्टिँदै पल्टिँदै एउटा किताबको
कहानी छोटिँनु न थियो, छोटिँयो
बस्,
एउटा मान्छेको जिन्दगानी सकिनु न थियोे,सकियो
समय घर्कनु न थियो, घर्किरह्यो ।
वि.सं.२०८० साउन १३ शनिवार ०९:४१ मा प्रकाशित






























