खोलाघरे साइँलो, इलाम
विदेशी कतिञ्जेल बन्लान् उनी
खपूँ के गरी बैँस यो बैगुनी
बढी रात कोल्टे फिरेरै बिते
मलाई जवानी स्वयं भो खुनी ।
न रङ्गीन मन खोल्न मिल्ने कतै
न रम्नै सकें लाख आशा थुनी ।
बचूँ के गरी ताप्न खोज्छन् निकै !
अकेली म सन्यासिनीको धुनी !
सधैं स्वप्नमा देख्नुपर्ने किन ?
उनी साहुजी रे , म चैं साहुनी !
चढ्यो ताप तनमा र मनमा दुवै
पवन व्यर्थ भो पूर्वको मन्सुनी
नसोचेर नै भन्न सक्छन् सबै
‘जुनीमा त हो बैँस मात्रै जुनी !’
बहर : मुतकारिब मुसम्मन महजूफ
फऊलुन्
अर्कान : ।क्क् ×३ + मफा क्ष्क्
वि.सं.२०८० साउन १३ शनिवार ०९:४० मा प्रकाशित






























