अनुराग अरुण, महालक्ष्मी, ललितपुर
१.
छिन मै बादल छिन मै घाम लाग्छ ।
के थाहा कतिबेला को काम लाग्छ ।
बस यो दिल कंचन हुनुपर्छ साथी,
आफ्नो सम्झे, आफ्नै तमाम लाग्छ ।
२.
नुनको पत्तो लाग्छ, सुन आएको पत्तै लाग्दैन ।
जाँच्नेलाई के, को र कुन आएको पत्तै लाग्दैन ।
ए हजुर ! आँखै हो कहिले धमिलो देख्छ होला,
यौटा दुइटा भए पो, थुन आएको पत्तै लाग्दैन ।
३.
जति श्रम गरे पनि जीवन भर सुख हुँदैन ।
पसिना बगाउदा पनि तरतर सुख, हुँदैन ।
धनिको बास्ना, गरिबको पसिना गनाउने,
नाक थुनेर सबै हुन्छन् परपर, सुख हुँदैन ।
४.
सास लिन पनि सास छाड्नु पर्छ ।
केही लिनका लागि केही बाड्नु पर्छ ।
ए हजुर ! सित्तैमा केही पाइदैन यहाँ,
काम गराउन पनि हात माड्नु पर्छ ।
५
जति चुचुरो चढे पनि आखिर झर्ने तलै हो ।
जमिनमा पाइताला टेकेर हिड्नु पर्ने तलै हो ।
आलिशान तल्ले भव्य दरवारमा बसे पनि,
मरे पछि लाश पोल्ने र सदगद गर्ने तलै हो ।
वि.सं.२०८० साउन १३ शनिवार ०९:३९ मा प्रकाशित






























