मोहन गौतम, राङ्का, सिक्किम
अझै छ मनमा अनन्त माया, म राख्छु जारी तलास मेरो
रुँदै कराएँ सोची अमर छ्यौ, यतै कतै आसपास मेरो
तिमी मलाई छोडेर एक्लै, कता हरायौ हे मेरी प्यारी
म हेर्छु आकाश धर्तीमा खुब, अटुट बनाएर आस मेरो
सकिन्न भाग्नै छोडेर टाढा, हुँदै छु बन्धक म आज भोलि
अशान्ति धेरै हुँदा कहिल्यै, हुँदैन घरभित्र बास मेरो
रगत छ मेरो दुरुस्त रातै, जो देशमा वीरले बगाए
म शान्ति खोज्दै छु क्रान्ति बोकी, अझै छ जारी प्रयास मेरो
ललाटमा जे छ हुन्छ उस्तै, बदल्न सक्ने हुँदैन कोही
म खोज्न जान्नँ उडेर जागिर, यहीँ छ खुल्ला आकाश मेरो
बहर : जमिल मुसम्मन सालिम
अर्कान :१२१२२ – १२१२२ – १२१२२ – १२१२२
वि.सं.२०८० साउन १३ शनिवार ०९:३८ मा प्रकाशित






























