नैना अधिकारी,कामरूप, असम
घरका सबै झ्याल–ढोका बन्द गरेर
गुप्तबासमा बसेको कविता
जत्रोसुकै कोलाहल मच्चियोस्
बाहिर निस्किँदैन कुनै हालत
जबसम्म सम्मेलन, प्रतियोगिता,
काव्यमेलाको समाचार आउँदैन
सप्रेम निम्तो पाउँदैन
त्रास फैलिएको छ बाहिर
मान्छेहरू स्वार्थको डोरी तानातान
प्रतिष्ठाका लागि हानाहान गर्दैछन्
धृतराष्ट्रको दरबारबाट छर्किएको शान्तिजलले
उत्तप्त भएर पोलेको छ निमुखा प्रजाको सर्वाङ्ग
मान्छेले बिर्सिएको छ, अधिकार के हो ?
कर्तव्य के हो ?
सहनशीलताको सिरान कहाँ छ
अथवा कहाँनेर छ
समर्थन र विरोधको साँध–सिमाना
भोकको उपत्यकामा चोखा मुन्साएका
अन्नका गेडाहरू बटुल्दै
स्वर्गका ईश्वर र मर्त्यका नरेशप्रति
कृतज्ञता जनाउन व्यस्त मानिस देखेर
तृप्तिको कुटिल हाँसो हाँसिदिन्छ
निद्रामै हो कि तन्द्रामा
एउटा कुम्भकर्ण कविता
कविता सुतेको छ
लङ्का जले पनि
भुँडीमा आगो बले पनि
महँगीको पिर कति असह्यनीय हुन सक्ला
ज्यालाजीवीहरूका लागि
बेरोजगारको पीडा कति दर्दानक होला
राजमार्गमा खुलेआम लुटिएका दामिनी,
निर्भयाहरूको चीत्कार
कति डेसिबलको हुने गर्छ
यी सबै वाहियात कुरा हुन् उसका लागि
जो लुटिन्छ उही निर्भया
कति मिठो बिम्ब छ कविताका लागि !
कविता विशुद्ध निष्पक्ष अभिव्यक्ति हो
नारा बोल्नु हुँदैन कविताले
भजन मात्र गाउनुपर्छ
कविता शान्त हुनुपर्छ
कोमल हुनुपर्छ
सर्वजन हिताय सर्वजन सुखायको
सुमधुर राग सुन्दै
कविता फेरि सुतिदिन्छ
प्रतियोगिताको घण्टी नबजेसम्मलाई ।
कविको ’अमूर्त कारागार’ कविता सङ्ग्रहबाट लिइएको
वि.सं.२०८० भदौ २ शनिवार ०८:१० मा प्रकाशित






























