
सुरेशकुमार पाण्डे, दाङ, घोराही
‘फलानो धर्म/फलानो धर्म भनेर पाखुरा सेमला सेमल नगरौँ । हामी सबै एउटै देशका नागरिक हौँ । देशको संविधानले धर्म निरपक्ष अंगालेको छ ।’ बद्रीले एउटा सभालाई सम्मोधन गर्दै भने ।’
सभामा बसेकाहरू सबैले पररर ताली पिटे र समर्थन जनाए ।
तर सभामै बसेको एकजना मुरारीले भने ताली पिटेन । बरू बद्रीतिर आँखा तानेर एकोहोरो नियाली रहेको थियो ।
मञ्चको अध्यक्षता गरेका मिलखराजले त्यतै हेरिरहेका थिए । ‘भाई हजूरलाई केही भन्नु छ ?’ मिलखराजले मूरारीलाई सोधे ।
‘हजूर !’ मूरारीले सटिकमा उत्तर दियो ।
भन्नुहोस् के भन्नु छ ?
अहिले यहाँ अतिथी बनेर सम्बोधन गरेका नेताजीको छोराहरू मिलेर हिँजो एउटा अर्को धर्म मान्नेलाई कालो मोसो दलेका मैले आफ्नै आँखाले देखेको छु ।
हाम्रो देशको सम्विधानमा धर्म निरपेक्षता छ । जुनसुकै धर्म मान्न पाइन्छ । सबै धर्म हाम्रै हुन् । सबै धर्मको सम्मान गर्नुपर्छ भनेर एकातिर ‘भ्रम फैलाई’ जनतामा ठाउँ बनाउने । अर्कोतिर ‘आफ्नै उपस्थितिमा’ आफन्ती र लठैत लगाएर अर्को धर्म मानेकालाई कालो मोसो दल्ने । यो दोग्लो कार्यले आकासतर्फ फर्केर थुकेको जस्तो भएन त ?
मूरारीको बिचार सकिएपछि पनि जनताले पररर ताली पिटेर समर्थन जनाए ।
‘वाह ! मेरो देशका जनता, जसले जे भनेपनि ताली पाएकै हुन्छ !’ मुरारीले हास्दै सबैतिर नियाल्दै थप्यो ।
जनताले फेरि पनि पररर ताले पिटे ।
मुख्य अतिथी बनेर उपस्थित बद्री निःशब्द आफ्नो मुख रूमालले छोप्दै सभाबाट हिँडे ।
वि.सं.२०८० भदौ ३० शनिवार ०७:३६ मा प्रकाशित