काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादले एकपछि अर्को गरी उग्र रुप लिँदैछ ।
यहि अक्टोबर १७, १८ र १९ तारिखमा भएको संघको विश्व सम्मेलन र ११ औं महाधिवेशनको निर्वाचनमा धाँधली भएको एकपक्षको आरोपसँगै संघभित्रको विवाद तिब्र रुपमा चर्किएको छ ।
संघको नेतृत्व लिन प्यानलै बनाएर चुनावी मैदानमा होमिएका डा. बद्री केसी, राजेन्द्रकुमार शर्मा र महेश श्रेष्ठको समूहले एकले अर्काको आलोचना मात्र गरेनन् नेतृत्व चयनका लागि भएको निर्वाचनमा व्यापक धाँधली भएको भन्दै एकले अर्कोलाई निशेध मात्र गरेनन् अध्यक्षमा विजय बनेका डा. केसीको समुहले शर्मा र श्रेष्ठ पक्षकालाई कार्यालयमाा प्रवेश निशेध गरेको समाचार सार्वजनिक भएका छन् भने श्रेष्ठ र शर्मा पक्षले पनि केसी विरुद्ध मुद्दा हाल्नेमात्र नभएर संघका झण्डै १८ वटा बैंक खाता रोक्का गर्न निवेदन समेत दिएको छ ।
१० औं महाधिवेशन देखि नै विवाद
२०७८ चैत १० र ११ गते भएको दशौं महाधिबेशनमै दुईचिरा परेको एनआरएनए संरक्षक शेष घलेले कोरियाका विनोद कुँवरको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेका थिए भने सोहि समुहमा रहेका कुल आचार्यपछि संस्थापन पक्षमा मिसिएर डा. बद्री केसी, रविना थापा र आचार्य तीन अध्यक्ष बनेर ६/६ महिना नेतृत्व सम्हाल्ने गरी कार्य विभाजन गरेका थिए ।
एकताको महाधिवेशन
संसारभरीका नेपालीलाई समेट्ने गरी सन् २००० मा स्थापना भएको एनआरएनएमा पछिल्लो चरणमा राजनीति हावी हुँदै जाँदा विवाद पनि सोहि रुपमा बढ्दै गएको छ । संघमा विशेषत नेपाली कांग्रेश, एमाले र माओवादीका विदेशस्थित भातृ संस्थाका नेतृत्व नै संस्थामा आवद्ध हुनु र आफ्नो विचार र सिद्धान्त अनुसार संस्थालाई अगाडि बढाउन चाहानुले संस्थाले बोकेको ‘नेपालीका लागि नेपाली’ भन्ने नारा, नारामै सिमित हुँदै आएको छ । झन दशौं महाधिवेशन यता त संस्थाभित्रका विवादहरु बाहिर छताछुल्ल हुँदै एकपक्षले अर्को पक्षलााई खुइल्याउने र मुद्दा मामिला गर्ने तहसम्म पुगेका छन् । यद्यपी ११ औं महाधिवेशनलाई एकताको महाधिवेशन भनेर जोड दिएपनि त्यसो हुन सकेन । यतिबेला संघभित्रको विवाद घले समुह र तीन अध्यक्षको कार्यकाल भन्दा तिब्ररुपमा बढ्दै गएको छ ।
मुख्य विवादका कारण निर्वाचन
यहि अक्टोबर १७, १८ र १९ तारिखमा् काठमाडौंको सोल्टी होटलमा भएको संघको विश्व सम्मेलन र ११ औं महाधिवेशनमा डा. केसी, महेश श्रेष्ठ र राजेन्द्र कुमार शर्माले आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । अक्टोबर १८ तारिख विदेशबाट अनलाइन तथा १९ तारिख नेपालमै भौतिकरुपमा उपस्थित भएर गरिएको मतदानका क्रममा केसी पक्षले अनलाईन भोटिङ प्रणाली नै आफ्नो कब्जामा लिएर धाँधली गरेको आरोप लगाउँदै शर्मा र श्रेष्ठ पक्षले विज्ञप्ति नै सार्वजनिक गरेर मत परिणाम अस्वीकार गरेका थिए ।
उपाध्यक्षका उम्मेदवार केशव पौडेलको शून्य मत
निर्वाचनको मत परिणाम अनुसार उपाध्यक्ष पदका उम्मेदवार केशव पौडेलको पक्षमा नेपालबाट शून्य मत खसेको पाइएपछि निर्वाचनमा धाँधली भएको निष्कर्ष श्रेष्ठ र शर्मा पक्षले निकालेको थियो । पराजित भनिएका पौडेल स्वयमले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सार्वजनिक रुपमै संस्थामा फ्रड र माफियातन्त्र हावी भएको आरोप समेत लगाएका थिए । यद्यपी निर्वाचन गराउने भेरो भोटिङ अनलाइन कम्पनीले पौडेलको नाम फरक परेकोले शून्य नतिजा देखिएको र त्यो सच्याउँदा पौडेल विजयी भएको भन्दै उनलाई उपाध्यक्षमा विजयी भएको घोषणा गरिएको थियो ।
विवादकै बीच शर्माको नेतृत्वमा समानान्तर कमिटी गठन
संघ को ११ औँ महाधिवेशनमा मतगणनामा भएका कमजोरीका कारण बाँकी प्रक्रिया रोक्ने लिखित सहमति उल्लघंन गरेको भन्दै आरके शर्माको समुहले पनि नयाँ समिति घोषणा गरेको हो । शर्माको नेतृत्वमा सामानान्तर कमिटी गठन भएसँगै एनआरएनएको ११ औं एकताको महाधिवेशन झन–झन विवादमा फस्दै गएको हो ।
निर्वाचनमा धाँधली भएको समितिको निष्कर्ष
निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएका शर्मा र श्रेष्ठले त्यसको छानविन गर्न समिति नै बनाउनुपर्ने माग गरेपछि छानविनका लागि समिति नै गठन गरिएको थियो ।समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली भएको ठहरसहित प्रतिवेदन बुझाएको छ ।
उक्त समितिले शुक्रबार एक प्रतिवेदन तयार गर्दै निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण प्रकृयामा गम्भीर अनियमितता गरेको तथा तेस्रो पक्ष भेन्डर (भेरो) ले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेकोे निष्कर्ष निकालेको हो ।
निर्वाचनका सामान्य र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन समिति र भेण्डरसँग अध्यक्षका एक जना उम्मेदवारले मात्र सूचना आदानप्रदान गर्ने सुविधा प्राप्त गरेबाट उक्त प्रक्रियालाई अनुचित प्रभावमा राखेर परिचालित गरेको, उम्मेदवारहरुको परिचय सहित विभिन्न बुथमा फरक फरक र विकृत नाम तथा हिज्जेसहित फरक पारी पठाइएको, मतदाताहरुले मत दिँदा समेत आफूले चाहेको उम्मेदवार छनौट गर्न असहज पारिएको, अनलाइन भोटिङमा हस्तक्षेप गरी मतदाताको मत रिफ्लेक्ट नहुने गरी रिजल्ट दिन खोजिएको, उपाध्यक्षका एकजना उम्मेदवारले काठमाडौंमा रहेको बुथमा प्राप्त गरेको सम्पूर्ण मतलाई शून्यकरण गरिएको जस्ता त्रुटिहरु अनुगमन समितिले फेला पारेको जनाइएको छ ।
‘मत परिणाम सार्वजनिक गर्ने नाममा अध्यक्ष, महासचिव लगायत सिंगल पदका उम्मेदवारले पाएको कुल र नो भोटको संख्या कहिँ कतै तालमेल नभएको साथै निर्वाचन आचारसंहिता बमोजिम तोकिएको समयभित्र जुममा प्रवेश गरेका व्यक्तिहरुलाई मतदानको प्रक्रियामा सहभागी नगराइएको पाइयो । अनुगमन समितिको प्रतिवेदनमा भनिएको छ ।
झडपको स्थिति आएपछि सुरक्षाकर्मी तैनाथ
निर्वाचनको मत परिणामलाई लिएर संघभित्र बढेको विवादका कारण यतिबेला एनआरएनएको बालुवाटारस्थित कार्यालयमा सुरक्षाकर्मी नै तैनाथ गर्नुपर्ने स्थिति आएको छ ।
अध्यक्ष केसीले धाँधली गरेर चुनावको परिणाम आफ्नो पक्षमा पारेको आरोप लगाउँदै आएको शर्मा पक्षले केसीलाई कार्यालय प्रवेश गर्न नदिने भन्दै गेटमा ताला लगाएपछि झडपको स्थिति आउन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको हो ।
शर्मा पक्षले दियो खाता रोक्का गर्न निवेदन
विवादकै बीच शर्मा पक्षले सोमबार संघ तथा संघका विभिन्न नाममा रहेका भातृ संस्थाको बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ ।
समानान्तर कमिटीका अध्यक्ष शर्माले निर्वतमान कोषाध्यक्ष लोक दाहाल र सुनिल साहमार्फत् विभिन्न बैंकमा रहेका संघका १८ वटा खाता बन्द गर्न निवेदन दिएका ।
शर्मा पक्षले विभिन्न बैंकहरुमा पत्राचार गरिनुका साथै परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत (सीईओ) राजेन्द्र कुमार राउतलाई पनि जानकारी गराइएका बताइएको छ ।
आइतबार अध्यक्ष शर्मासहितका पदाधिकारीहरु नियमित कार्यसञ्चालनका लागि भन्दै बालुवाटारस्थित संघको कार्यालयमा पुग्दा अध्यक्षको कोठा बन्द रहेको बताइएको छ ।
शर्माले सीईओसहितका कर्मचारीहरुसँग छलफल गरेपश्चात संघको नाममा रहेका कुनैपनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको साँचो जिम्मा लगाउन सीईओलाई आग्रह गरेका थिए । तर, सो क्रममा राउतले संघको सम्पूर्ण तालाचाबी डा बद्री केसीसँग रहेको जानकारी गराएको बताइएको छ ।
भेटपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष शर्माले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीहरुको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा संचालन गरिनु अवैध हुने भएकाले तत्काललाई रोक्का गरिएको जानकारी दिएका थिए ।


वि.सं.२०८० कात्तिक १३ सोमवार १४:५९ मा प्रकाशित






























