काठमाडौं । गैरआवासीय नेपाली संघको कार्यालयमै पत्रकार ओम शर्मा कुटिएपछि त्यसको सवैतिर आलोचना भएको छ ।
संघको कार्यालयमा समाचार संकलन गर्न गएका पत्रकार महासंघ बेल्जियमका अध्यक्ष तथा चारदिशा डटकमका सम्पादक ओम शर्मामाथि नेकपा एमालेको भातृ संगठन युथफोर्सका युवाहरुले आक्रमण गरेको शर्माको आरोप छ ।
सोहि विषयलाई लिएर संघका नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीले एनआरएनएकै कार्यालयमा एमाले नेता महेश बस्नेतसहितका युथफोर्सका युवाहरुलाई राखेर कार्यक्रम गरेका बेला शर्मा लगायतको ‘एनआरएनएको कार्यालयमा युथफोर्सको कार्यक्रम’ भनेर प्रश्न उठाउँदा उनीमाथि कुटपिट भएको र क्यामेरा खोसेर उनले खिचेको तस्बिरहरु डिलिट गरिदिएको पत्रकार शर्माले जानकारी दिएका छन् ।
यसै विषयलाई लिएर संघका अध्यक्ष डा. केसी र महासचिव गौरीराज जोशीले विज्ञप्ति नै जारी गरेर उक्त घटनाका बारेमा स्पष्टीकरण दिएका छन् । उनीहरु समानान्तर कमिटीका अध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) लगायतको समूहलाई वार्ता र संवादबाट विवाद समाधान गर्न समेत आव्हान गरेका छन् ।
के छ डा. केसीद्वारा जारी विज्ञप्तिमा ?
गैरआवासीय नेपाली संघमा पछिल्लो समय उत्पन्न परिस्थितिबारे सबैलाई अवगत रहेको बताउँदै अध्यक्ष केसीले संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट सन् २०२३–२५ को कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण तथा प्रमाणपत्र समेत लिई नियमित काम समेत सुरु गरिसकेको बताएका छन् ।
‘काम सुरु गरिसकिएको अवस्थामा निर्वाचनमा उपविजयी भएको पक्षले संघको नियमित कार्यमा बाधा पुर्याउने, कार्यालयमा हुलहुज्जत गर्ने, कर्मचारीहरुलाई आफू अनुकुल काम गर्न दबाब दिई मानसिक रुपमा प्रताडित गर्ने, संघको नियमित कामकाजका लागि प्रयोग हुँदै आएको बैंकको खाता बन्द गर्न पत्राचार गर्ने लगायतका अत्यन्त अशोभनीय गतिविधिहरु गर्दै आएकोले अहिले सचिवालयका कर्मचारीहरु भौतिक रुपमा कार्यालयमा उपस्थित भएर काम गर्न नसक्ने स्थिति पैदा भएको छ,’ विज्ञिप्तिमा भनिएको छ, ‘यस परिस्थितिबारे प्रहरी प्रशासनलाई जानकारी गराईसकिएको र प्रहरीले आफ्नो तर्फबाट निगरानी गरिरहेको छ ।’
संघका नयाँ निर्वाचित पदाधिकारीहरुलाई पूर्वमन्त्री महेश बस्नेतले कार्यालयमा पुगेर बधाई दिएको तथा एमालेले दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि निमन्त्रणा दिने क्रममा उक्त घटना घटेकोप्रति विज्ञप्तिमा दुःख व्यक्त गरिएको छ ।
‘संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उपविजेता भएका राजेन्द्र कुमार शर्मा (आर.के.) को नेतृत्वमा बुद्धि सागर सुवेदी, गंगाधर गौतम, ठाकुर प्रसाद ढुङ्गाना लगायत व्यक्तिहरु संघको कार्यालयमा प्रवेश गरी पूर्वमन्त्री महेश बस्नेतलाई गालीगलौच गरी अनुमतिबिना फोटो खिच्ने; व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातिलाई होच्याई चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदङ्गा गर्नेसम्मका गतिविधि भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सो क्रममा संघको केन्द्रीय कार्यालयमा घटेको घटनाप्रति हामी दुखी छौँ । यस सम्बन्धमा हामीले नेपाल प्रहरी प्रशासनमा उजुरी गरी छानबिन र दोषी उपर कारबाहीको माग समेत गरेका छन् ।’
लोकतान्त्रिक पद्धत्तिमा विजय र पराजय नियमित प्रक्रिया भएको तर त्यसलाई स्वीकार्नुको सट्टा संघको २० वर्षको अस्तित्व नै धरापमा पार्ने खालका गतिविधि गर्ने र ८० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको शाख गिराउने कार्य गर्नु निन्दनीय रहेको डा. केसीले बताएका छन् । ‘निर्वाचनमा धाँधली भयो भन्ने उपविजयी पक्षले गरेको दाबीलाई लिएर हामीले अन्तर्राष्ट्रियस्तरको छानबिनका लागि पटक पटक आह्वान गर्दा पनि छानबिनका लागि तयार नहुने तर स्वघोषित कमिटी गठन गर्ने, अनावश्यक रुपमा आरोपप्रत्यारोपमा उत्रने लगायतका गतिविधि गर्नु पक्कै पनि उचित छैन ।’ विज्ञप्तिमा भनिएको छ ।
उग्ररुप लिँँदै एनआरएनए विवाद : कार्यालयमा सुरक्षाकर्मी तैनाथदेखि बैंक खाता पनि रोक्का
हरेक समस्याको समाधान संवादबाटै सम्भव हुने भएकोले उपविजयी पक्षलाई छानबिनका लागि सहयोग गर्न र संघको सचिवालयका दैनिक कार्यमा कुनै पनि किसिमको बाधा अवरोध नपुर्याउन अनुरोध समेत डा. केसी र जोशीले विज्ञप्तिमार्फत् अनुरोध गरेका छन् ।
‘अन्त्यमा, विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई पनि निर्वाचनको प्रारम्भिक नतिजा प्रकाशन गर्ने क्रममा देखा परेको प्राविधिक त्रुटि सम्बोधन भइसकेको र निर्वाचन गराएको कम्पनिबाट प्राप्त मतपरिणामको अन्तिम परिणाम, प्राविधिक त्रुटि सम्बन्धमा दिएको स्पष्टीकरण लगायतको प्रमाणहरुको आधारमा निर्वाचन समितिले विजयीको घोषणा गरिसकेकोले बाहिर आएका अफवाह र भ्रामक खबरको पछि नलाग्न र निर्वाचित पक्षलाई साथ, समर्थन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।


वि.सं.२०८० कात्तिक १६ बिहीवार ०८:११ मा प्रकाशित






























