काठमाडौँ । यस वर्षको वर्षायाममा रु १५ अर्ब २४ करोड बराबरको विधुत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विधुत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विधुत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विधुत् निर्यात गरी रु १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो । प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम सात सय मेगावाटसम्म विधुत् निर्यात गरेको थियो । निर्यात गरिएको विधुतको औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि २० मङ्सिरसम्ममा रु १३ अर्ब २३ करोड ६७ लाखको विधुत् निर्यात गरिएको छ । यस अवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विधुत् निर्यात भएको छ । निर्यात गरिएको विधुतको औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा छ ।
सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका जलविधुत् गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विधुत् आयात सुरु भएको छ । शुक्रबार रातिबाट विधुत् निर्यात बन्द हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विधुतको अधिकतम माग एक हजार सात सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विधुत् आयात सुरु गरिएको बताए । “अहिले विधुत् उत्पादन र माग करिब करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विधुत् गृहहरुमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भने ।
“पिक समयमा आयात गर्दा विधुतको दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ, त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरुमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विधुत् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ”, उनले भने ।
उनले चैत र वैशाखमा विधुत् आयातको परिणाम केही बढेता पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको जानकारी दिए । “आगामी वैशाखको दोस्रो हप्ताबाट विधुत् निर्यात पुनः सुरु हुने छ । यस वर्ष करिब नौ सय मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदैछ, त्यसैले अर्को वर्ष करिब रु २५ अर्बको विधुत् निर्यात हुनेछ”, घिसिङले थपे, “दुई देशबीचको प्रसारण सञ्चालन सुधारका लागि ठूलो क्षमताका लाइनहरु बनिरहेका छन् भने देशभित्र पनि जलविधुत् आयोजनाहरुको निर्माण भइरहेका छन् त्यसैले आगामी पाँच वर्षभित्रमा वार्षिक रुपमा करिब रु एक खर्ब बराबरको विधुत् निर्यात हुने अवस्था बनिरहेको छ ।”
प्राधिकरणले जेठमा रु २१ करोड ६० लाख, असारमा रु एक अर्ब ७८ करोड ५३ लाख, साउनमा रु दुई अर्ब १४ करोड ७६ लाख र भदौमा रु तीन अर्ब ४७ करोड ८५ लाख बराबरको विधुत् निर्यात गरेको छ । यसैगरी, असोजमा रु चार अर्ब १७ करोड ७७ लाख, कात्तिकमा रु दुई अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा रु ७३ करोड ५९ लाख विधुत् निर्यात गरी आर्जन भएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विधुत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विधुत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विधुत् भारतीय कम्पनी एनटिपिसी विधुत् व्यापार निगम लि-एनभिभिएनलाई बिक्री गरिरहेको थियो । एनभिएनले उक्त विधुत् हरियाणा राज्यमा बिक्री गरेको थियो ।
भारतको केन्द्रीय विधुत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै पाँच सय २२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विधुत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विधुत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय ४७ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी छ सय ५७ मेगावाट विधुत् निर्यातका लागि स्वीकृति पाएको छ ।
वि.सं.२०८० मंसिर २२ शुक्रवार १४:०४ मा प्रकाशित






























