प्रेम राई परीक्षित
चौदण्डिगढि–४ बसाहा, उदयपुर
हाल–बाँसबारी काठमाडौं
पर….बालुवामा
खेलिरहेकी नसरिनलाई
बारुदको कालो धुवाँले छोप्छ
ग्रिनेटका छर्राहरूले
आफ्नै घर अघि यासेर
भुक्लुक्क ढल्छ
युसुफको एउटा हात
छालाको भरमा तुन्द्रुङ्ग झुण्डिन्छ
एक्कासि उछिट्टिन्छन्
यासिफको सन्सार देख्ने अवोध आँखाहरू
रोईरहेका छन् आमाहरू
मृत छोराको शरीरमा घोप्टिएर
कुदिरहेका छन् निरीह बुबाहरू
घाइते छोरीहरू बोकेर
निस्सार सडकका गल्लिहरूमा
बालुवाको सहर क्रन्दनमय छ
तर बालुवा पटक्क बोल्दैन
बालुवा कहिल्यै रुँदैन
बालुवा अचेल जिद्दी भएको छ
रदिफको घर जलेको देख्दैन
यालाको जति आँसु बगोस् पुछ्दैन
घरी उफ्रन्छन् हमासका रकेटहरू
बालुवाको सहरमा
घरी जङ्गिन्छ्न् यहुदिका राक्षसी लन्चरहरू
प्यालेस्टाइनका आकाशहरूमा
प्रतिस्पर्धा छ रकेट र लन्चरहरूको
मानवता हराएको छ गगनचुम्बी घरहरूमा
युद्ध सल्किरहेछ
धर्ती फुटिरहेछ
आकाश चर्किरहेछ
न युद्दले बुझ्छ मानव अधिकार
न हेर्छ गोलि लागेर
आइसियुमा मृत्यु कुरेर बसेको बिरामी
न अनुभूत गर्छ सुत्केरीको पीडा
अनि भोकले छपटाएका
टुहुराहरूको एक्लो अनन्त क्रन्दन
मान्छेलाई पर्दा
मान्छे नै बोल्नु पर्छ
हराएको मानवता
मान्छेले नै खोज्नु पर्छ
सिँगौरी खेल्नेहरूको सिङ
मान्छेले नै फुकाल्नु पर्छ
घमण्डि सिङहरूबाट
मान्छेले नै संसारलाई जोगाउनु पर्छ
युद्ध युद्ध नै हो
न त्योसँग मुटु हुन्छ पीडा बुझ्ने
न आँसु झर्ने मायालु आँखाहरू
युद्ध अन्धो हुन्छ
युद्ध बहिरो हुन्छ
युद्धले देख्दैन मानवीय सम्वेदना
आज युद्धको धुवाँमा
शान्ति हराएको छ
निरीहहरूको देश गायब भएको छ
भन्छन् संसार ग्लोबल भिलेज
तर ग्लोबल भिलेज
मेरो गाउँ जस्तो निस्वार्थी रहेनछ
ग्लोबल भिलेज
मेरो गाउँ जस्तो सुरक्षित छैन रहेछ
चौथिमा काँक्रो चोरेर खाँदा
केही भन्दैन मेरो गाउँ
ऊखु भाँचेर खाँदा रिसाउँदैन
मेरो गाउँ
तर तिम्रो ग्लोबल भिलेजमा
सिमानामा होस् या आकाश
बिना भिसा पाइला टेक्नै पाइन्न रहेछ
वास्तबमा
तिम्रो ग्लोबल भिलेजमा
भिलेज यानेकी गाउँ नै भेटिन्न रहेछ
मान्छेलाई पर्दा
मान्छे नै बोल्नु पर्छ
हराएको मानवता
मान्छेले नै खोज्नु पर्छ
सिँगौरी खेल्नेहरूको सिङ
मान्छेले नै फुकाल्नु पर्छ
घमण्डि सिङहरूबाट
मान्छेले नै संसारलाई जोगाउनु पर्छ
त्यसैले,
आऊ रोकौँ
रकेट अनि काला बुलडोजरहरू
जो रगतका बिस्कुन लगाईरहेछ्न्
इजरायल र प्यालेस्टाइनका आगनहरूमा…!!!
वि.सं.२०८० पुस २८ शनिवार ०८:२४ मा प्रकाशित






























