टीकापुर (कैलाली) । कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमान्को गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ । टीकापुरको एकतानगर बस्तीमा बस्ने उनकोे घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो । श्रीमान् बितेपछि साहुनीले बालबच्चाको भोक मेटाउन नसकेर दुई छोराछोरी अनाथाश्रममा राखेका छन् । एक छोरी आफूसँग छिन् । उनलाई खर्च जुटाउन निकै समस्या भएको छ ।
“मेरो शारीरिक अवस्था कमजोर छ, दिनभरि कडा श्रम गर्नुपर्ने काम गर्न सक्दिनँ, अरु कमाउने कोही छैन”, साहुनीले भनिने, “बच्चा पाल्न सकिनँ, दुई बच्चा अनाथाश्रममा राखेकी छु । एउटा छोरी साथमा छिन्, उनलाई पनि शिक्षादीक्षा दिन समस्या भएको छ । घरमा खानेकुरा छैन ।”
कौशिल्ला कामीका श्रीमान्समेत बितेपछि उनलाई समस्या छ । सत्तरी वर्षकी कौशिल्लाको स्वास्थ्य पनि राम्रो छैन । उनालाई पनि कठिनाइ भएको छ । “केही काम गर्न सक्दिनँ, घरमा छोरी छन्, छोरीले पकाएर दिए खान पाउँछु”, उनिले भने, “रोगले सताएको छ । उपचारमा धेरै रकम खर्च हुन्छ, कुन दिन भोकै मर्नुपर्छ भन्ने पिरले सताउने गरेको छ ।” एकल महिलामा पनि ज्येष्ठ एकल महिलालाई घरव्यवहार चलाउन, खर्च जोहो गर्न र बालबालिकाका आवश्यकता पूरा गर्न कठिनाइ हुने गरेको छ ।
बाटु कामी पनि शारीरिकरूपमा अशक्त हुँदै गएका छन् । उनलार्ई पनि सामाजिक सुरक्षा भत्ताले मात्र खर्च धान्न नपुग्दा समस्या भइरहेको छ । उनी सरकारले निःशुल्क उपचार गरिदिएको भए हुन्थ्यो भन्छन् । “सामाजिक सुरक्षा भत्ता पाउँछु, एक किस्तामा रु आठ हजार पाइन्छ, महिनामा रु दुई हजारसम्मको औषधि खान्छु, त्यो रकमले पुग्दैन”, उनी भन्छिन् , “ममात्र होइन, मजस्ता एकल महिलाका समस्या थुप्रै छन् । श्रीमान्को मृत्युपछि बेरोजगार रहेका सबै महिलालाई घर चलाउन आर्थिक कठिनाइले सताएको छ ।”
छपन्न वर्षीया सरस्वती ओड पनि एकल महिलाका थुप्रै समस्या रहेका बताउँछन् । सामाजिक सुरक्षा भत्ताको रकमले घर खर्च चलाउन निकै कठिन रहेको, रोजगारी केही नभएकाले समस्या भइरहेको ओड बताउँछन् । “हामी केही काम पाएको भए गर्न सक्थ्यौँ, सरकारले रोजगारीका अवसर दिएको भए हाम्रो जीवन सहज हुने थियो”, ओड भन्छन्, “हामी जवान छौँ, हामीलाई प्रधानमन्त्री रोजगारजस्ता कार्यक्रममा रोजगारीका अवसर स्थानीय सरकारले दिनुपर्छ । अन्य सीपमूलक तालिम, अनुदानजस्ता सहयोग गरेर हाम्रो जीवन सहज बनाइदिनुपर्छ ।”
देवी परियारका पनि साना बालबच्चा छन् । उनी खाउलाउ भन्ने उमेरमा श्रीमान् गुमाएका महिलालाई आर्थिक समस्याले झेलेकाले सरकारले रोजगारीका अवसर सिर्जना गरिदिएको भए हुन्थ्यो भन्छन् । “जग्गाजमिन भएको भए खेतीपाती गर्ने थियौँ, हामीलाई बालबच्चा पाल्न गाह्रो हुन थाल्यो”, देवीले भनिन्, “हामी रोजगारी पाए जुनसुकै काम पनि गर्न सक्छौँ, हामीलाई सरकारले उत्पादनमूलक रोजगारीका अवसर देओस् ।”
ज्येष्ठ एकल महिला विजा कामीका श्रीमान् बिते । श्रीमान् बितेको केही समयपछि छोरा पनि बितेपछि तीन टुहुरा नातिनातिनी पालेर बसेकी छिन् । उनलाई बालबच्चालाई खुवाउन, पालनपोषण गर्न कठिन भएको छ । “श्रीमान् र छोरा कमाउने उमेरका मानिस रहेनन्, साना तीन नातिनातिनी मैले स्याहार्नुपरेको छ”, उनिले भनिन्, “बच्चा भोकभोकै छन्, कहिलेकाहीँ राति उठेर रुन्छन्, मैले कसरी सम्हाल्नु । उनीहरूलाई के खुवाएर पेट भरौँ ?”
टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला छ सय २६ रहेका छन् । विधवा महिला एक हजार पाँच सय ७० छन् । महिला बालबालिका शाखा संयोजक सङ्गीता शाहले नगरपालिकाले एकल महिलाको सशक्तीकरणका क्षेत्रमा पालिकाले तालिम, गोष्ठी, बाख्रा, बङ्गुर वितरणजस्ता कार्य गर्दै आएको बताईन् । “एकल महिलाका समस्या धेरै छन्, त्यसैलाई ध्यान दिएर हामीले हरेक कार्यक्रम गर्दा एकल महिलालाई प्राथमिकता दिने गरेका छौँ”, उनिले भनिन्, “पालिकाले वडास्तरमा बाख्रा वितरण, बङ्गुर वितरणजस्ता कार्यसमेत गर्दै आएका छन्
वि.सं.२०८० फागुन १५ मंगलवार ११:१७ मा प्रकाशित






























