स्पन्दन विनोद
दधिकोट, भक्तपुर, हाल- लण्डन, यूके
बुबा भन्नु हुन्थ्यो छ नेपाल राम्रो
यतै जन्मियौँ के छ कस्तो छ हाम्रो
विदेशी भयौ या त नेपालका हौँ
कहाँका भयौँ प्रश्न बिस्तार खोज्छौँ ।१।
बुबा जन्मिँदा देशको त्यो मुहार
र आमा नछाड्दा त्यहाँको बहार
भयो लौ मलाई थियो भिन्न के के
विदेशी हुँदा झन् भयो भिन्न के के ?२।
सधैँ बस्न पाए हुनेझैँ छ देश
विदेशी भयौँ आज बेग्लै त के छ
नटेकौँ नदेखौँ नहोला धरामा
बस्यौँ देशभन्दा सयौँ कोस टाढा ।३।
बुबाका र सन्तान मेरा यतै छन्
छ नेपाल कस्तो भनेका भनै छन्
नसोधे त हुन्थ्यो बुबा सोध्न थाल्छन्
भनौँ के छ नेपाल कस्तो छ भन्छन् ।४।
कहाँ पुग्छ पुस्ता यसै देश छोड्दा ?
स्वदेशी हियामा नपोल्ला कि पोल्ला ?
नछोडौँ बुबा देश फर्कौँ सबेरै
सके ढोग्न माटो खुसी मिल्छ धेरै ।५।
छन्द : भुजङ्गप्रयात
गण : य य य म
सङ्केत : lSS lSS lSS lSS
वि.सं.२०८० चैत २४ शनिवार ०७:५० मा प्रकाशित






























