समीप बैरागी, रोल्पा
देख्छु –
चेलीहरूको कोमल हातहरूमा-रङ्गहरूको उत्सव
सोमबारे व्रत बसेकी
बहिनीको चेहरामा-प्यासी चमक
र, सुन्छु-
नाडीहरूमा रङ्गीन चुराहरूको-सुमधुर कोरस ।
देख्छु-
कालो पत्थरको काखीबाट
सुवास छरिरहेको-कुकुम
धर्ती चिरेर हलहलाएको तामा
र, सुन्छु –
मकै बारीमा तिर्थाबासीको-रोदन ।
देख्छु –
घना जङ्गलका पत्रहरूमा
रातो च्याउको टीका लाएर उभेको–धुपी सल्ला
निर्दोषी आँखाबाट खसेको आँसु झैँ
पहाडको छाती फोडेर बगेको–सङ्लो झरना
र, सुन्छु-
मौनतालाई खलबल्याउने
टाउको माथि-चट्याङको गर्जन ।
देख्छु –
इन्द्रेणीको चम्किलो पोते
गलामा भिरेर मुस्कुराएको हिम्चुली
सिंहदरवारको आँखा नपुगेको
दुर्गम सडकको खाल्डोमा
बादलको अनुहार देखिने मौसमको आँसु
र, सुन्छु–
टाकुराको ओडारमा
भिर चर्ने च्याखुराको चिरबिराहट ।
अनि देख्छु –
मेरी आमालाई पनि हरियो साडीमा
त्यसैले
मलाई पनि लाग्छ–साउन हरियो साउन जस्तै ।
तर …
मेरो बुबालाई साउन कसरी कालो भयो ?
झुसेलकिरा जस्तै किन देखिनुहुन्छ बुबा ?
०००
शब्दार्थ –
१. कुकुम = लेकाली पत्थरहरूमा पाइने भिक्सको जस्तो वास्ना भएको जङ्गल ।
२. तिर्थाबासी = फट्याङ्राको जस्तो खुट्टा भएको कालो रङको किरा ।
वि.सं.२०८१ साउन ५ शनिवार ०७:३४ मा प्रकाशित





























