बाबुराम न्यौपाने ‘उत्स’दमक, झापा
१.
लेखक साहित्यकार नत कार्यकर्ता नत दास हुन्
यी स्वतन्त्र कलमचीहरू बुलन्द युगका आस हुन्
यदि यिनको चेतनामा कोही बिर्को लगाउँछ भने
तानाशाहले नभुलोस् यिनीहरू युगका त्रास हुन् ।
२.
महान् पुर्खाहरू चिहानबाट जुरुक्क उठ
जताततै छ क्षुद्रता कुशासन बेथिति लुट
यदि समयमै यिनीहरुको बुद्धि नफिरे
गतिछाडा भ्रष्ट सैतानलाई कोर्राले चुट ।
३.
पीरैपीरले कोमल मन कुटुकुटु खाएको बेला
प्रेमको बदला घातको उपहार पाएको बेला
म कुन सुखान्त महाकाव्य रचना गरौँ साथी
दिलले मध्येरात वेदनाको गीत गाएको बेला।
४.
नसम्झनु साथी मैले पैंचो लगाएको हो
मैले त केवल सुषुप्त मन जगाएको हो
साथी हुनुको मीठो कर्तव्यबोध भएर नै
उत्प्रेरित गर्नको लागि थोरै सघाएको हो।
वि.सं.२०८१ साउन ५ शनिवार ०७:३९ मा प्रकाशित






























