मनीषकुमार शर्मा ‘समित’, मध्यपुर ठिमी, भक्तपुर
शरीरका अङ्गप्रत्याङ्ग सबै दौडमा थिए । अरू प्रतिस्पर्धिलाई जित्न नदिन मस्तिष्कले नेतृत्व गर्दै जित्ने उपाय सोच्यो र सबैलाई कोर्रा लगायो ।
आदेश बमोजिम खुट्टा बेजोडले कुद्यो । उसको कुदाइमा हातले पनि साथ दियो । अवरोध छल्न आँखाले डोर्यायो । निकै सकसपछि गन्तव्यमा पुगे ।
उपरखुट्टी लगाउँदै खुट्टाले भन्यो – ‘यो जित मेरो हो ।’
आँखा पनि के कम, उसले चुनौति दिँदै भन्यो – ‘भो, धेरै खोक्नु पर्दैन । म नभएको भए तिम्रो पाइला पनि सर्दैनथ्यो ।’
उता हातले पनि थपि हाल्यो – ‘मैले पनि थकाईको बेला मालिस नगरेको भए तिमी पहिले नै पक्षाघात हुन्थ्यौ ।’
हारजीतको मामलामा सबै अङ्गप्रत्याङ्गबिच चर्काचर्की पर्न थाल्यो । यो देखेर आजित मस्तिष्कले एकपटक विगत फर्किएर हेर्यो र सोच्न थाल्यो – ‘यी सारा दौडहरू केका लागि थिए ?’
वि.सं.२०८१ साउन १२ शनिवार ०८:२१ मा प्रकाशित






























