मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
चिन्तित गाउँले समस्याको निराकरणको लागि महात्मा कहाँ गए ।
‘गुरु हामी समस्याले घेरिएका छौं । गाउँको बिच रहेको त्यो ठुलो वृक्षले विष बमन गरेर पुरै गाउँ त्रसित बनाएको छ । समस्या समाधानको लागि हामीले त्यो विषालु रूखको हाँगा काट्यौँ तर पनि समस्या ज्युँका त्युँ रह्यो ।’
सबै कुरा सुने बुझे पछि महात्माले मुसुक्क हाँस्दै जवाफ दिए–
‘यो विषको भण्डार त जरामा छ, तिमीहरू हाँगा काट्दै छौ ।’
‘हो र गुरु? हामी पनि कति बुद्धु रहेछौं, जरैदेखि काट्नु पर्ने हाँगा मात्र काटेछौं ।’ यति भन्दै गाउँले फर्किए हाले । उनीहरू हतारोमा थिए । महात्माका बाकीँ कुरा सुन्न चाहेनन ।
उनीहरू फर्कने बित्तिकै गुरुले सुस्तरी भने –
‘अल्पज्ञानं अपायकरं भवति’
नजिकै रहेको चेलाले आश्चर्य हुँदै सोधे– ‘किन र गुरु ? त्यो विषवृक्षलाई जरैदेखि उखाले भने समस्या समाधान हुँदैन र?’
‘तिमीले पनि कुरा बुझेनौ । वास्तवमा विष त्यो वृक्षमा हैन उनीहरूको मनमा जरो गाडेर बसेको छ ।’
वि.सं.२०८१ भदौ १ शनिवार ०५:१७ मा प्रकाशित





























