भूपाल अधिकारी, बिराटनगर
१.
तिम्रो मेरो प्रेममा दूरी बढेपछि
मनभित्र विरहको हुरी चलेपछि
मासु जस्तै टुक्रा टुक्रा भएको हुँ,
म अचानो तिमी खुकुरी बनेपछि ।
२.
बाँसुरी जस्तै बजाए ओठमा राखेर
पशुझैँ ठानी मलाई गोठमा राखेर
अब तेरो अन्तिम समय हो भन्दै,
रुँदैछन् सबै तुलसी मोठमा राखेर ।
३.
बनेको छु कमिलाले खोतलेको रुखको जरो जस्तो
त्यहीँ बर्खामा खसिरहने कृष्ण भीरको पहरो जस्तो
सिर्फ बाँचेर हिजोआज म रन्थनिँदै हिडिरहेको छु,
टाउकामा नै मट्याङ्ग्राले लागेको कुनै चरो जस्तो ।
४.
मान्छेहरू घमण्डी र अहङ्कारी नभई युद्ध हुँदैनन्
हरेक धाम मन्दिर धाउनेहरू सबै जना शुद्ध हुँदैनन्
दिउँसो साधु रातमा डाँकु बन्दै हिड्छन् भेषधारीहरू,
रातरात घर छोड्दै हिड्नेहरू हर कोही बुद्ध हुँदैनन् ।
५.
साहस,आँट,लक्ष्य भने बमोजिम लिनेहरू
योग्यता,क्षमता बढाउँछन् तालिम लिनेहरू
जस्ताको त्यस्तै हुन्छन् सोचेर बस्नेहरू सधैँ,
तर सफलता प्राप्त गर्छन् जोखिम लिनेहरू ।
वि.सं.२०८१ भदौ ८ शनिवार ०५:२५ मा प्रकाशित






























