back
CTIZAN AD

अनुत्पादक क्षेत्रमा खर्च हुँदै ‘रेमिट्यान्स’

वि.सं.२०८१ भदौ १० सोमवार

735 

shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का वसन्त रानाभाटको २०८० फागुन १३ गते दुबईमा मृत्यु भयो । उनकोे मृत्यु भएपछि श्रीमती लक्ष्मी केसी रानाभाटले नगरपालिकामा क्षतिपूर्तिका लागि निवेदन दिईन् । नगरपालिकाको रोजगार शाखाले उनलाइृ रु सात लाख क्षतिपूति दियो ।

सन्धिखर्क नगरपालिका–७ का मधुकुमार केसीको २०८० पुस ८ गते मृत्यु भयो । उनकी श्रीमती निमकला केसीले पनि क्षतिपूर्ति माग गरी सन्धिखर्क नगरपालिकामा निवेदन दिए र उनले पनि रु सात लाख प्राप्त गरिन् । अर्घाखाँचीका ५५ हजारभन्दा बढी मानिस श्रम स्वीकृति लिएर विदेशमा काम गर्न गएका छन् । युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायत देशमा जाने युवायुवतीको सङ्ख्या यसमा समावेश गरिएको छैन । गैरकानुनी ढङ्गले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेहरुको तथ्याङ्क कतै भेटिँदैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साझेदारीमा काम गरिरहेको सुरक्षित आप्रवासनका लुम्बिनी प्रदेश संयोजक जियाउल हकका अनुसार पछिल्लो तीन वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अर्घाखाँचीका ४७ जनाले ज्यान गुमाएको तीमध्ये नौजनाको यसै वर्ष मृत्यु भएको हो । ७४ जना गम्भीर बिरामी परेका तथा अङ्गभङ्ग भएका छन् ।

अर्घाखाँचीबाट आर्थिक वर्ष २०७९÷८० मा छ सय ३३ महिलासहित नौ हजार पाँच सय २६ जना रोजगारीका लागी विदेश गएका थिए । चालु आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्म आठ हजार एक सय ७५ जनाले वैदेशिक रोजगारीका लागि देश छाडेको सुरक्षित आप्रवासनका अर्घाखाँची शाखाका सहजकता अम्बिका बेल्वासेले बताए ।

अर्घाखाँचीमा अहिलेसम्म वैदेशिक रोजगारीसम्बन्धी ठगीका १० वटा उजुरी परेका छन् । यीमध्ये चार उजुरीको छिनोफानो भएको छभने छवटा प्रक्रियामा रहेका छन् । ठगी गर्नेहरुबाट रु १० लाख ४६ हजार पीडितलाई फिर्ता गराइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । आव २०६३÷६४ सालयता गएको वैशाख मसान्तसम्म ७७ लाख २० हजार सात सय आठजनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

गत आव २०७९÷८० मा सात लाख ७१ हजार तीन सय २७ जना रोजगारीका लागि विदेश गएका थिए । यो सङ्ख्या गएको १७ वर्षयताको उच्च हो । चालु आवको ज्येष्ठ मसान्तसम्म छ लाख नौ हजार छ सय ९९ जना कामका लागि विदेश गएका थिए । अहिलेसम्म विदेश जानेहरुमध्ये ९३ प्रतिशत मलेसिया तथा खाडी मुलुकमा गएका छन्भने बाँकी सात प्रतिशत जापान, बहराइन, कोरिया, क्रोएसियालगायत देशमा छन् ।

विदेशबाट पठाएको पैसाको ७२ प्रतिशत रकम घर खर्चमा गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यस्तै, १५.८ प्रतिशत रकम ऋण तिर्न, ४.६ प्रतिशत छोराछोरीको अध्ययन र १.९ प्रतिशत रकम घरजग्गामा खर्च भएको छ । यसको १.९ प्रतिशत रकम बचत गरिएको छ । नेपालभरका ५६ प्रतिशत घरपरिवार र लुम्बिनी प्रदेशका ८९.६ प्रतिशत घरपरिवारले ‘रेमिट्यान्स’ प्राप्त गर्छन् ।

अर्घाखाँची विदेशबाट पैसा आउने जिल्लामध्ये अग्रपङ्क्तिमा आउँछ तर त्यो पैसा उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा श्रम बेच्ने मानिस उत्पादन गर्ने काम मात्र भइरहेको छ । साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले दुई वर्षअघि गरेको अनौपचारिक सर्भेक्षणअनुसार जिल्लामा भित्रिएको रेमिट्यान्स (विप्रेषण) को ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुन्छ ।

स्थानीय सरकारले व्यवसाय र स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिट्यान्सको पैसो बाहिर जाने गरेको छ । केही गर्ने खालको युवा जनशक्तिलाई अर्काको देश पठाएर आएको पैसोको सदुपयोग गर्ने खालको योजना कुनै पनि पालिकाको छैन ।

वार्षिक झन्डै रु साढे सात अरब अर्घाखाँची भित्रने गरेको छ । त्यसमध्ये तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटरसाइकल, कार, इन्धन, लत्ताकपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको छ । ४० प्रतिशत रकम अर्थात् तीन अर्ब उत्पादन नहुने क्षेत्र अर्थात् घडेरी र घरमा खर्च हुने गरेको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश भुसालले बताए । उनका अनुसार जिल्ला सदरमुकाम, कपिलवस्तुका विभिन्न भाग तथा रुपन्देहीको बुटबल, भैरहवा, दाङ, चितवन र काठमाडौँमा घर घडेरी किन्नेमा खर्च भएको छ ।

विदेशबाट आएको रकमको २० प्रतिशत मात्र कृषिफार्म, सानाहोटल, किरानापसल र ट्याक्सी तथा वस जस्ता उत्पादनशील क्षेत्रमा खर्च भइरहेको छ । तर यस्तो व्यवसाय गर्नेहरुले पनि बीचैमा व्ववसाय छाडने गरेका छन् । वैदेशिक रोजगारीमा गएका युवाले कमाएको पैसा विलासिता र दैनिक उपभोग्य सामग्रीमा खर्च भएकाले उक्त रकम उत्पादनमूलक कार्यमा खर्च गर्नुपर्ने खालको नियम नै बनाएर अगाडि बढ्न सकेमा मात्र उत्पादनशील क्षेत्रमा खर्च हुने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

वैदेशिक रोजगारीमा युवाहरुलाई जानबाट रोक्न स्थानीय सरकारहरुले पनि काम गरिरहेका छन् । विदेशबाट फर्किएर गाउँमै कृषि र पशुपालन गर्ने युवाहरुलाई नगरपालिकाले प्राविधिक सहायताका साथै विभिन्न अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । परम्परागत कृषि पेसालाई आधुनिक र प्रविधियुक्त बनाउन मिनीटिलर, कुटानी–पिसानी मिललगायत सामग्रीहरु किसानलाई हस्तान्तरण गरेको छ । विभिन्न तरकारीका बीउ, मल आदि पनि प्रदान गर्दै आएको छ ।

अर्घाखाँचीको शितगङ्गा नगरपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र भौतिकपुर्वाधारलाई प्राथमिकतामा राखेर आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । आगामी आव २०८१÷८२ को लागि रु ८६ करोड ८६ लाख ९० हजारको बजेट ल्याएको नगरपािलकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । शितगङ्गा कृषि, पशुपालनको लागि सम्भावना राम्रो भएको नगर हो । तराईका जिल्लासँग सिमाना जोडिएको यहाँको उत्पादन बुटवल, कपिलवस्तु, दाङसहित भारतीय सीमानाका कृष्णनगर हुँदै भारत निर्यात हुन्छ ।

जङ्गली मौवाको फूल, स्थानीय रैथाने बाली र फलफूलबाट बनाइने रक्सीको ब्रान्डिङ गरिने लक्ष्य रहेको योजना अधिकृत नुमलाल खनालको भनाइ छ । शितगङ्गा नगरपालिकाले कृषिजन्य बस्तु उत्पादन र बजारीकरणका लागि नयाँ योजना सञ्चालन गरेको छ । प्रत्येक वडामा कृषि सङ्कलन केन्द्र निर्माण गरिने पालिकाले जनाएको छ ।

 

वि.सं.२०८१ भदौ १० सोमवार १२:५१ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...