जानुका गुरागाईँ, झापा
हो यो चाड ठुलो भनेर बहुतै ढर्रा र ढाँचा गरी ,
छर्दै छन् जनले विषाक्तपनको दुर्भावना बेसरी ।
मर्यादा अघिको भुलेर यसरी गर्ने हुँदा जे पनि ,
हाम्रो संस्कृति मासिँदै छ, अहिले ढोँगी हुँदा जीवनी ।१।
होहल्ला महिनौ अगाडि नगरे के चाड मानिन्न र ?
पार्टी होटलमा अगाडि नदिए के मान पाइन्न र ?
व्यर्थैमा यसरी कुमार्गतिरको बाटो लिँदा सङ्गिनी ,
हाम्रो संस्कृति मासिँदै छ, अहिले ढोँगी हुँदा जीवनी ।२।
बज्छन् गीतहरू खुबै बिथितिका सुन्नै नसक्ने गरी ,
नाच्छन् मस्त सँगै पिएर मदिरा छानी अनेकौँ थरी ।
यस्ता चाल र ढालले सुख कतै मिल्दैन है सङ्गिनी ,
हाम्रो संस्कृति मासिँदै छ, अहिले ढोँगी हुँदा जीवनी ।३।
हाम्रा चाड दसैँ, तिहार तिजका संस्कार राम्रा कति ,
आशीर्वाद लिए झुकेर पदमा सुध्रन्छ हाम्रो मति ।
छर्दा दुर्मति एकले भुवनमा बिग्रिन्छ दैनन्दिनी ,
हाम्रो संस्कृति मासिँदै छ, अहिले ढोँगी हुँदा जीवनी ।४।
हाम्रो मौलिकता छ बिघ्न गतिलो बुझ्दै छ संसारले ,
आआफ्नो पहिचान बोक्दछ सधैँ भाषा र संस्कारले ।
यस्तो दौलतको बुझेर महिमा लागौँ न ज्ञानी बनी ,
हाम्रो संस्कृति मासिँदै छ, अहिले ढोँगी हुँदा जीवनी ।५।
छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
गण सङ्केतः SSS llS lSl llS SSl SSl S
वि.सं.२०८१ भदौ २२ शनिवार ०५:१८ मा प्रकाशित





























