काठमाडौँ । नेपालीहरूको दोस्रो ठुलो महान् पर्वका रूपमा तिहारलाई लिने गरिन्छ । तिहारलाई फूल फूलको पर्व समेत भन्ने गरिन्छ । दाजुभाइ दिदी बहिनीबिच आपसी मेलमिलाप, माया, प्रेम, स्नेह र सद्भाव बढाउन तिहारले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।
तिहारमा काग, कुकुर, गाई, गोवर्द्धन, लक्ष्मी र दाजुभाइको पूजा गर्दा सयपत्री फूल र मखमलीको प्रयोग अधिक हुन्छ । नेवारी समुदायले म्ह पूजा गर्दा समेत सयपत्रीको प्रयोग गर्छन् । तिहारका पाँचै दिन सयपत्री फूल अनिवार्य प्रयोग गरिन्छ । मखमली फूल भाइटिकामा मात्रै प्रयोग हुन्छ । तर, सयपत्री फूल तिहारका पाँचै दिन र विशेष गरी लक्ष्मीपूजामा घर सजावटमा बढी प्रयोग गरिन्छ ।
पुर्खाले वर्षौँदेखि जोगाउँदै र प्रयोग गर्दै आएका सयपत्री र मखमली तिहारका विभिन्न पक्षमा प्रयोग हुनु महान् सांस्कृतिक पर्व तिहारको अत्यन्त सुन्दर पक्ष हो । सयपत्री र मखमली तिहार पर्वमा प्रयोग हुने विशेष फूल हुन् । यी दुवै फूल यही सिजनमा ढकमक्क फुल्ने गर्छ । बारीको कान्लाभरि, घरको बार्दलीभरि, पाखाभरि सयपत्रीले ढकमक्क हुने गर्छ । सयपत्री र मखमली फूलको सुगन्धले सबैलाई तिहारको आभास दिलाउँछ ।
तिहारमा घर सजाउन, पूजाआजा गर्न वा चेलीले माइतीलाई माला लगाइदिन पनि मखमली र सयपत्रीको प्रयोग हुन्छ । प्राकृतिक फूल मध्य सयपत्री र मखमली लामो समय टिक्ने भएकाले दिदी बहिनीहरूले आफ्ना माइतीको यश, आयु पनि लामो समय कायम रहोस् भनी प्रतिकात्मक रूपमा सयपत्री र मखमलीको प्रयोग गरेका हुन्छन् । त्यसो त यी फूलहरू आफैमा आकर्षक मात्र होइन, औषधीय गुणले भरिपूर्ण भएकालेपनि महत्त्वपूर्ण छन् ।
मध्य पहाडी क्षेत्रको रैथाने जातका रुपामा लिइने सयपत्री र मखमली त्यस समय असोज र कात्तिकमा मात्रै फुलेका हुन्थे । तर, हिजोआज गाउँ, सहर र विदेशका बगैँचामा समेत बाह्रै महिना फूलेको देखिन्छ ।
पूर्वीय दर्शन अनुसार सयपत्री फूलको प्रयोगले मानिसमा भएको अहङ्कारलाई कम गर्छ । फूलको केसरी रङले त्याग र माया-मोहको दूरीलाई दर्साउँछ । यसबाहेक घरको मुख्य ढोकामा सयपत्रीको फूलको तोरण लगाउनाले घरमा नकारात्मकता आउन पाउँदैन । सयपत्री फूलको अर्को रोचक भनाइ फूल ओइलाउन अथवा सुक्न थाल्यो भने पनि यसको सुगन्ध फैलिरहन्छ, जसले निराश हुँदा पनि धैर्य गर्ने बल पुग्छ । ऊर्जा तथा प्रेरणाले भरिएको यस फूलको नौरङ्गी रङको महत्त्व पनि कम छैन ।
रोजगारको माध्यम प्राकृतिक फूल
नेपालको धर्म, संस्कृति, परम्परा र सौन्दर्य सँग जोडिएको विभिन्न प्रजातिका प्राकृतिक फूल यहाँको श्रम र रोजगारसँग पनि जोडिएको छ । कुनैसमय परम्परागत रूपमा मात्र उत्पादन गरिँदै आएका फूलको हिजोआज नेपाली कृषकहरूले व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।
नेपालमा पछिल्लो सयमा फूल खेतीप्रति कृषकहरूको आकर्षण बढेको छ । अन्य खेतीको तुलनामा यसको खेती गर्न सहज छ । बजारको पनि त्यति समस्या नहुने भएकाले फूल खेतीप्रति आकर्षण बढ्दै गएको हो । नेपालमा हरेक वर्ष फूल खेती फैलिँदै गएको छ । खेती र उत्पादन बढेसँगै फूलको कारोबार पनि वृद्धि भइरहेको छ ।
नेपालका ४८ जिल्लाका २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको छ । हालसम्म दुई सय एक्काइस हेक्टर क्षेत्रफलमा फूल खेती हुँदै आएको छ । जसमा दुई सय बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री खेती भइरहेको छ ।
एसोसिएसनका अनुसार सयपत्री फूलको व्यावसायिक उत्पादन सातै प्रदेशमा भइरहेको छ । प्रदेश सरकारले व्यावसायिक फूल खेतीमा लगानी गर्न थालेपछि उत्पादन बढ्न थालेको जनाइएको छ ।
फूल खेतीमा ४४ हजारभन्दा बढी जनशक्तिले यस क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका छन् भने एक हजार ११६ जना फूल व्यवसायी संलग्न छन् । यसले स्वदेशमै स्वरोजगार बन्ने र आत्मनिर्भर बन्ने प्रक्रियालाई बढाएको छ ।
आयातित फूलले मर्कामा नेपाली किसान
नेपालमा फूलखेती प्रति किसानहरूको आकर्षण बढ्दै गएपनि आयातित फूलहरूको कारण नेपाली किसानहरू मर्कामा पर्ने गरेका छन् । व्यावसायिक सोच राखेर उत्पादन गरेको फूल विक्री गर्ने बेला एकाएक सस्तोमा भारतीय फूल बजारमा आउँदा ठुलो घाटा बेहोर्नुपरेको गल्याङ नगरपालिका-५, रुपाखानीका पुष्प व्यवसायी चन्द्रबहादुर राना चित्रले गुनासो गरे । उनी भन्छन्, ‘भारत लगायत दोस्रो मुलुकबाट आउने फूलहरू नेपाली फूलहरू भन्दा सस्तो पर्ने भएकाले उपभोक्ता र व्यापारीहरू त्यतातर्फ आकर्षित हुन्छन् । बाहिरी देशबाट आउने फूलहरूमा रोक नलगाउँदा सम्म नेपाली पुष्प व्यवसायीहरू त्रासमै रहन्छन् ।,’
गएको आर्थिक वर्षमा प्लास्टिकका सजावटका सामान, पातबाट बनेका सजावटका फूल, बुके दुई करोड ९० लाख रुपैयाँ बराबरको आयात भएको छ । चीन र भारत सहित २० देशबाट थोरै-थोरै प्लास्टिकका सजावटका सामग्री आएको भन्सार विभागको तथ्याङ्कमा छ । प्राकृतिक फूल मात्रै २७ करोडको आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार एक करोड दुई लाख १२ हजार रुपैयाँ बराबरको भएको छ । आयाततर्फ २७ करोड ७९ लाख पाँच हजारको कारोबार रहेको छ ।
यता सरकारले नेपालभरि प्लास्टिकको फूल गुच्छा उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाउने भनेर सूचना जारी गरेको छ । यद्यपि प्लास्टिकका फूल उत्पादन, आयात र विक्री वितरण बन्द हुन सकेको छैन । कतिपय स्थानीय तहहरू सरकारको प्लास्टिकका फूलहरूलाई प्रतिबन्ध लगाउने नीतिमा थप कडाइ गर्न प्रयास गरेपनि असफल भएका छन् ।
प्लास्टिकका फूल संस्कृति माथिको प्रहार
नेपालमा प्राकृतिक फूलहरू प्रशस्त उत्पादन हुने गरेको भएपनि कतिपय व्यापारी तथा उपभोक्ता प्लास्टिकका फूलहरूमा आकर्षित हुँदा फुलाफुलको सांस्कृतिक पर्वका रूपमा चिनिएको तिहारको मौलिकतामा खतरा उत्पन्न भएको छ ।
सयपत्री, मखमलीको तुलनामा सस्तो, आकर्षक तथा धेरै दिन राख्दा नबिग्रने भएकाले एउटा ठुलो जमात प्लास्टिकका फूलहरू प्रयोग र व्यापारमा आकर्षित छ । प्लास्टिकका फूलले बजार भरिन थालेपछि प्राकृतिक फूल ओझेलमा पर्ने खतरा देखिएको छ ।
तिहारको मौलिकता र सांस्कृतिक महत्त्व सयपत्री र मखमलीले जोगाएको धार्मिक अभियन्ताहरूले बताउने गरेका छन् । बजारमा छ्यापछ्याप्ती प्लास्टिकका फूलहरू बिक्री वितरण हुँदा र उपभोक्ताहरूको रोजाइमापनि प्लास्टिककै फूल पर्ने गर्दा तिहारको मौलिकता मासिँदै जान सक्ने धार्मिक अभियन्ता बैकुण्ड बजगाईँ बताउँछन् ।
‘तिहारमा दिदी बहिनीले दाजुभाइको विजयका लागि भाइटिका लगाइदिइने प्रचलन युगदेखि चल्दै आएको हो । यो नेपालीहरूको महान् संस्कृति पनि हो’, उनी भन्छन्, ‘अहिले बजारबाट प्लास्टिकका माला किनेर दाजुभाइलाई लगाइदिने चलन बढ्दो छ ।’
हिन्दुहरू प्रकृति पूजक भएको हुँदा सूर्य, चन्द्रमा, मङ्गल, बृहस्पति र समस्त प्रकृतिको पूजा गर्छौँ । प्रकृतिलाई जननी र नदीलाई गङ्गा मान्छौँ । प्रकृति पूजकले मान्ने सबै पर्वमा प्राकृतिक सौन्दर्य झल्किनुपर्छ’, उनी थप्छन्, ‘भाइटिकामा प्राकृतिक फूलको माला लगाउनु प्रकृति पूजकको पहिचान हो ।’
हुनपनि प्लास्टिकको फूल प्रयोग गर्नु प्राकृतिक पूजक माथिको अपमान हो । नेपाली संस्कृतिमा भित्र्याइएको विकृति हो । संस्कृतिमाथिको विकृति र मोडनाइजेसनले नेपाली संस्कार र परम्परामा धक्का पुराइरहेको छ । प्लास्टिकका फूलहरूको प्रयोगले वातावरणीय अपकुलतामा पनि गम्भीर जटिलता निम्त्याएको छ । यस कारण नेपाली संस्कार, संस्कृति, परम्पराको रक्षा र विकास गर्न प्राकृतिक बस्तुको बहु उपयोग गरौँ । पर्यावरणीय स्वच्छतालाई कायम राखौँ । मौलिकता जोगाऔँ । मोडनाइजेसन र प्रकृतिमाथिको खेलबाड बन्द गरौँ ।
वि.सं.२०८१ कात्तिक १२ सोमवार १४:१४ मा प्रकाशित































