back
CTIZAN AD

सर्वसाधारण खट्ने, माननीयले पैसा बुझ्ने

वि.सं.२०८१ मंसिर २ आइतवार

957 

shares

अन्य देशमा काम नगरीकन तलब खानु भ्रष्टाचार गरेको मानिन्छ । हामीकहाँ विगत तीन महिनादेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा बन्द छ । एउटा पनि कानुन बनेको छैन । सदन बन्द भए पनि सभामुख–उपसभामुख, सांसद, सांसदका पिए, सङ्घीय सांसदका कर्मचारीको तलब पाकिरहेको छ । त्यहाँ मासिक लाखौँ रुपैयाँ तलब खानेहरू छन् ।

कानुन बनाउन भनी जनताले आफ्नो अमूल्य मत दिएर पठाएको सांसदहरू यति बेला मोजमा छन् । कोही देश–विदेश भ्रमणमा छन् त कोहीलाई एनजिओको कार्यक्रममा अतिथि बनेर भ्याइन भ्याइ छ । कुनै जति बेला पनि होटेल–रेस्टुरेन्टमा देखिन्छन् । कुनै पार्टीका सम्पूर्ण सांसद सडकमा छन् ।

‘सहकारी ठग’ लाई जोगाउनुपर्छ भन्दै उनीहरू नाराबाजी गरिरहेका छन् । कुनै सांसद बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि भागिभागी हिँडेका छन् । हामीकहाँ कस्ता सांसद छन् ? यो भनिरहन आवश्यक छैन । कोही ठेकेदार, कोही सेयर दलाली, कोही सहकारी ठग, कोही जग्गा दलाली छन् । उनीहरूलाई कानुन बनाउनुपर्छ भन्ने के थाहा ? अर्काको पैसामा विदेश जान पाउँदा उनीहरू मक्ख हुन्छन् ।

२०७९ मङ्सिर ४ गते दुवै सदनको चुनाव भयो । चुनाव भएको पनि दुई पुगेर तीन वर्ष पुग्न लाग्यो । तर, जति कानुन बन्नुपर्ने थियो, बनेन । उनीहरूले काम नगरे पनि सरकारले महिनैपिच्छे तलब दिन्छ । राज्यबाट पाउनुपर्ने कुनै सुविधा उनीहरूले छोड्दैनन् । काम नगरीकन तलब भत्ता, सेवा सुविधा लिँदा उनीहरूलाई अलिकति हीनताबोध महसुस नहुने रहेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई सदन नै बोलाउन नपरे हुन्थ्यो जस्तो भएको छ । सदन बोलाउँदा त सरकारको विरोध हुने भो । त्यही विरोध टार्नका लागि उनीहरू सदन नै बन्द गरेर राख्ने मनसायमा देखिन्छन् । गत असोज १० गतेदेखि लगातार भएको वर्षाले बाढी पहिरो गयो ।

ठुलै धनजनको क्षति भयो । मुलुक गम्भीर समस्याबाट गुज्रिरहेको बेला सदन बन्द थियो । जनताबाट चुनिएर गएका जनप्रतिनिधिले जनताकै आवाज उठाउन पाएनन् । ओली प्रधानमन्त्री भएको चार महिना बित्यो । तर, उनले देश र जनताको लागि एउटा सिन्को पनि भाँचेका छैनन् । आफ्नो कार्यकर्तासँग फोटो खिचाउँछन्, बस्छन् ।

जसका कारण ओलीको पछिल्लो समय व्यापक विरोध भइरहेको छ । सर्वसाधारण भन्छन्,‘पञ्चायतकालमा एउटै जेलका सहयात्री थिए यिनीहरु । जे पनि मिलेर गर्छन् । अहिले मिलेर देश लुटिरहेका छन् ।’ जनताले तिरेको कर सिद्धाउने, देश खोक्रो बनाउने, देश बेच्नेबाहेक राजनीतिक दलको अन्य विचार नै भएन ।

पार्टीका सांसदहरू पनि त्यस्तै भए । सदन आह्वान गर्नुपर्छ, हामीले जनताको आवाज उठाउन पाउनुपर्छ भनेर कुनै सांसदले माग गरेको पाइँदैन । अहिले विपक्षीमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी छ । तर, यी पार्टी पनि मुखमा बुझो हालेर बसेका छन् ।

सदन चलाउनुपर्छ भनेर यी पार्टीले पनि आवाज उठाएका छैनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारमा जान पाइन्छ कि पाइँदैन भन्ने मात्र चिन्ता छ । जनताको पीडा–मर्कामा उनलाई रत्तीभर पनि चासो छैन । उनी अहिले पनि जनतालाई झुक्काएर पदमा जान पाइन्छ कि भनेर लागिरहेका छन् ।

कहिले प्रत्यक्ष निर्वाचित राष्ट्रपति भन्छन्, कहिले के । जसरी हुन्छ जनतालाई अलमलाउने । माओवादीसँग न सिद्धान्त छ न विचार । त्यसको उदाहरण हेर्न धेरै टाढा जान पर्दैन । प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव सबै उस्तै छन् । जनता र सञ्चारकर्मीलाई झुक्काउने अनि आफू पदमा पुग्ने ।

राजनीतिक दलहरू आफ्नो स्वार्थका लागि देश बेच्न पनि पछि नहट्ने खालका भए । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले एउटा स्ट्याटस लेख्दै नेताहरूले देश बेचेको तर महानगर बिक्रीमा नभएको बताएका छन् । वर्तमान प्रधानमन्त्री ओलीले यसअघि सांसदहरूलाई ‘फेस’ गर्न नसकेर दुई पटक सदन विघटन गरे ।

अहिले त्यही व्यक्ति पुनः प्रधानमन्त्री छन् । उनीलाई त सदन नै बोलाउन नपरे, सांसदको प्रश्नको जवाफ दिन नपरे हुन्थ्यो जस्तो हुन्छ । अनि यस्तो पाराले देश चल्छ ? सदन नचलाउने हो भने किन चाहियो ? राज्यको ढुकुटी सकाउन र आफ्नो कार्यकर्ता पोस्न ? सदन पनि चल्दैन, खर्च पनि घट्दैन ।

विदेशीबाट हात थापिथापी माननीयहरू पाल्नुपरेको छ । संसद् सचिवालयका कर्मचारीले सुतिसुती तलब खाइरहेका छन् । सरकार कि अब तत्काल संसद् विघटन गर, कि सदन आह्वान गर । बेकारमा किन राज्यको खर्च बढाइराको ? चुनाव गराउँदा अर्बौं रुपैयाँ खर्च भएको छ ।

जनताले आफ्नो गाँस कटाएर तिरेको कर थियो त्यो । जनताले घामपानी नभनीकन घण्टौँ लाइनमा बसेर मतदान गरेका थिए । तर, त्यसको उपलब्धि के ? सदन बन्द हुँदा सांसदहरू मक्ख छन् । उनीहरूलाई ‘भ्याकेशन’ जस्तै भएको छ । तलब भत्ता र सेवा सुविधा पनि आइरहने, अर्काको खर्चमा घुमफिर गर्न पनि पाइरहने ।

योभन्दा अरू तिनलाई के चाहियो ? नेपाल सबै नेपालीको साझा हो । तर, राजनीतिक दलहरूले देशलाई आफ्नो निजी सम्पत्तिझैँ ठानेका छन् । जनतालाई भेडा बाख्रा सोचेका छन् । मत नपाउन्जेल हजुर र तपाईँ, पाएपछि कोही न कोही । जनताको मतलाई टोकरीमा फालेर हिँडेका छन् ।

माननीयहरू जनताको अगाडि ठूलठूला कुरा गर्छन् । यद्यपि, पार्टी अध्यक्षको सामुन्ने तिनीहरूको मुखबाट एउटा शब्द पनि खस्दैन । सांसदहरू पार्टी नेतृत्वको ‘गुलाम’ हुन् । उनीहरूसँग आफ्नो विचार, सिद्धान्त, एजेन्डा केही छैन । यसको पछिल्लो उदाहरण रास्वपा सांसदलाई लिएर हुन्छ ।

सभापति रवि लामिछाने सहकारीको रकम अपचलनमा समातिएपछि उनीहरू निरन्तर सडक आन्दोलनमा छन् । आखिर मन्त्री जो चाहिएको छ । पार्टी नेतृत्वको गुलामी गर्‍यो भने कहीँ न कहीँ त एडजस्ट गरिदिई हाल्छ । सर्वसाधारण मासिक तीन हजारदेखि १० हजारमा काम गर्छन् ।

बिहान उज्यालो भएदेखि राति अँध्यारो हुञ्जेलसम्म उनीहरू मरिमेटेर काममा खटिन्छन् । त्यो पनि त्यति जाबो तलबको लागि । सांसद र सचिवालयका कर्मचारीहरूले त कामै नगरीकन मासिक लाखौँ बुझ्छन् । रोचक कुरा त के भने कामै नगरीकन तलब बुझ्नेहरूले देश विकासको गाना गाउँछन् ।

हामी माननीय भनेर गर्व गर्छन् । जनताको आँखामा माननीयहरूको केही इज्जत छैन । पार्टी नेतृत्व सामुन्ने मुख त खोल्न नसक्ने माननीयले के जनताको आवाज उठाउँछन् ? सदन बन्द छ तर माननीयहरूको सवारी साधन बाटोमा गुडिरहेको देखिन्छ । तिनलाई कसले कारबाही गर्ने ?

आखिर यो देशमा कानुन लाग्ने भनेको जनतालाई मात्र हो । माननीयको बर्का ओढेका दलालहरूलाई जे गर्न पनि छुट छ । मजदुरको नाम बेचे, जनताको छोराछोरी सहिद बनाए, गरिबी र अशिक्षाको फाइदा उठाए, आफू पदमा पुगे । तर, जनता त हिजो जहाँ थिए, आज पनि त्यहीँ छन् ।

पेट पाल्नका लागि जनताका छोराछोरी खाडी छिरेका छन् । चर्को घाममा रगतपसिना बगाइरहेका छन् । नेता र सरकारी कर्मचारीचाहिँ तिनले पठाएको रेमिट्यान्समा मोज मस्ती गरिरहेका छन् । आफ्नो देशमा रोजगारी नपाएर उनीहरू अर्काको देशमा कमाउन गएका हुन् ।

नत्र आफ्नो परिवारसँगको बिछोड कसलाई न मन पर्छ र ? नेता र सरकारी कर्मचारीले जनताले तिरेको करमा त मोज गरे नै । विदेशी ऋण झन्डै २७ खर्ब पनि झ्वाम्म बनाए, रेमिटेन्स पनि सकाए । योभन्दा अरू विकास के नै गरुन् ?

वि.सं.२०८१ मंसिर २ आइतवार १६:५० मा प्रकाशित

Himalayan Life AD
यदि छबिलाल ‘प्रचण्ड’ नभएको भए के हुन्थ्यो?

यदि छबिलाल ‘प्रचण्ड’ नभएको भए के हुन्थ्यो?

त्यसैले सोचेर मत दिनुहोस्। भविष्य सम्झेर मत दिनुहोस्। आफ्नो मत...

कृषि बिना समृद्धि ? घोषणापत्रले जवाफ दिनुपर्छ !

कृषि बिना समृद्धि ? घोषणापत्रले जवाफ दिनुपर्छ !

नेपालको राजनीतिक इतिहासमा हरेक चुनावसँगै घोषणापत्र सार्वजनिक हुन्छन्। ती घोषणापत्रहरूमा...

ग्रामीण अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान

ग्रामीण अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान

कृषि नेपालको ग्रामीण अर्थतन्त्रको आधारशिला हो, जसले राष्ट्रिय जीडीपी (लगभग...

हृदयको जटिल शल्यक्रियापछि नयाँ जीवनतर्फको यात्रा

हृदयको जटिल शल्यक्रियापछि नयाँ जीवनतर्फको यात्रा

जीवन कहिलेकाहीँ कुनै पूर्वसूचना नदिई अत्यन्तै कठोर प्रश्न सोध्छ। हामी...

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद , नियमन, अनि गर्नु पर्ने आगामी कार्य

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद , नियमन, अनि गर्नु पर्ने आगामी कार्य

पशु चिकित्सक, रुपा गाउँपालिका, कास्की नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा...

चटके राजनीतिक नेताहरुको विगविगीले नैतिकवानलाई चुनौती

चटके राजनीतिक नेताहरुको विगविगीले नैतिकवानलाई चुनौती

नेपालमा केही वर्षदेखि अरुकै कॉध चढेर चटके राजनीति गर्नेहरुको बोलवाला...