हृषीकेश बराल, पोखरा, कास्की
स्वयं बिग्री बिगार्दै छन्, सबैलाई रुवाएर
कहाँ भन्ने कसो गर्ने, दुख्यो आत्मा सताएर ।
दुराचारीहरू मात्रै, सजिएका छन् रमाएर
चिताको अग्नि ताप्तै छन्,अरूलाई डढाएर ।।१
जथाभावी गरेका छन्, बिगार्दै छन् सपार्दैनन्
गरी पालो लुटेका छन्,अघायौँ भन्न जान्दैनन् ।
तिनैलाई पुजेका छन्, नुगी भेटी चढाएर
तिनैका पाउ ढोग्दै छन्,सयौं गल्ती लुकाएर ।।२
भयो गल्ती सुनाएमा, उसैलाई हपार्दछन्
नयाँ उत्साह बोकेका, युवालाई लघार्दछन् ।
बडो आनन्द मान्दै छन्, अरूलाई दबाएर
विरोधी देखिए थुन्छन्, झुठा मुद्दा लगाएर ।।३
विपक्षीको लिई सातो, उचाल्दै छन् पछार्दै छन्
बहाना नक्कली गर्दै, नयाँलाई थचार्दै छन् ।
भुली सम्मान मर्यादा,बसेका छन् गनाएर
रमाई वृद्ध खाँदै छन्,युवालाई धपाएर ।।४
व्यथा पीडा बढे भन्दा,सुनी टार्छन् घटाउन्नन्
कसो गर्दा उँभो लाग्ला, भनी सोद्धा बताउन्नन् ।
तिनैले बन्धु बेच्तै छन्, खसी जस्तै बनाएर
थुपारी अर्बको जेथा, कहाँ लान्छन् कमाएर ।।५
सधैं मागेर खान्थे रे, सुन्यौँ खर्बौं कमाएछन्
सधैं डेरा गरेकाले, हबेली पो बनाएछन् ।
विना पेशा धनी बन्छन्, सदाचारी सताएर
अझै ती लाज मान्दैनन्, बसेका छन् गनाएर ।।६
बने स्वार्थी भए पापी, यिनै मर्दा रुने हुन्नन्
मलामी पाउने छैनन्, युवा कोही त्यहाँ हुन्नन् ।
हजारौं योजना रच्छन्, युवालाई भजाएर
युवाको नाउँमा आफैं, डकार्दै छन् अघाएर ।।७
छन्द : विधाता
गण : य र त म य गु
सङ्केत : lSS SlS SSl SSS lSS S
वि.सं.२०८१ माघ १२ शनिवार ०५:१९ मा प्रकाशित






























