ओमआचार्य, अर्घाखाँची
म पात हूँ
हल्लाइरहन्छ हावाले
प्रायः म हल्लिरहन्छु
र हल्लिदा हल्लिदै एक दिन भूईँमा खस्छु ।
म पात हूँ
आफै चल्दै चल्दिन
वाध्यता हो मेरो इमान
र हावाले जता फर्कायो उतै फर्किन्छु ।
म पात हूँ
राप ताप सबै सहन्छु
बोटलाई सुम्सुमाउँदा सुम्सुमाउँदै टुट्छु
र पनि म खस्दा ऊ टुलुटुलु हेरेर मात्र बस्छ ।
म पात हूँ
हाँगाबाट छुट्टिन्छु
तर मायाँ छुट्दैन
र फेँदकै वरिपरी थुप्रिन्छु ।
म पात हूँ
सुक्छु÷झर्छु ÷कुहिन्छु
तर हरेस खान्न
र पुनः पुनः पलाउँछु ।
म पात हूँ
फरक जात हूँ
तर यौटै आँत हूँ
सम्बन्ध टुट्छ
र पनि सम्बन्ध अटुट छ ।
वि.सं.२०८१ माघ १२ शनिवार ०५:२२ मा प्रकाशित





























