
मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
मध्यरातमा देखिएको छायाँ आकृतिले झस्कायो । ऊ मतिर नै लम्कदै थियो । डराइ डराइ सोधेँ–
“को हौ तिमी ?”
“म सहिद ।”
सहिद नाम सुन्ने बित्तिकै कान ठाडा भए । त्यसमाथि गलाभरी फूलकोमालाले ढाकिएको उसको आकृतिले ठूलै सहिद जस्तो लाग्यो ।
“अनि आज कताबाट त ?”
“थाहा छैन तिमीलाई ? सहिद सप्ताह चल्दै छ, सम्मान थापेर आको।“
सम्मानित सहिद सामुन्ने देख्दा मन फुरुङ्ग भयो । उनको बारेमा जान्न मन झन् उत्सुक भयो । प्रश्नका वर्षा गर्न थालेँ –
“कसरी सहिद भयौ ?”
“एउटा धारिलो चिज आएर छातीमा गड्यो । म त्यहीँ ढलेँ । ढल्नु अगाडी गोली चल्यो भन्ने आवाज चाहिँ सुनेको थिएँ ।“
“तिम्रो योगदान के थियो त ?”
“त्यो त उसैलाई सोध्नु पर्छ, जसले सहिद घोषणा गर्यो ।”
“अनि तिमीलाई गोली हान्ने को थियो, सत्ताधारी कि विद्रोही?”
“खै म त नेत्रहीन, बाटोमा भिख मागेर बसिरहेको थिएँ ।”
वि.सं.२०८१ माघ १९ शनिवार ०५:०२ मा प्रकाशित