कृष्णप्रसाद पौडेल ’जस्ताघरे’, बट्टार, नुवाकोट
चेली मातृ वधू सुता र भगिनी, कन्याकुमारीहरू ।
छन् नारी बहु रूपका किसिमका, संसार देख्नेहरू ।।
छोरी टोल समाजका र घरका, कस्तो गरी फेरिए ।
भित्री रूप बिगार्न तत्पर हुँदा, नारी अझै बिग्रिए ।१।
देख्दा मात्र छ बाह्य रङ्ग गतिलो, आकारले हुन्छ के ?
नारी भद्र लजालु सभ्य नभए, शृङ्गारले गर्छ के ?
बोलीमा व्यवहारमा मगजमा, उल्टो क्रिया मच्चियो ।
नारीमा किन उग्र दुर्गुणहरू, बेजोडले फैलियो ।२।
सुत्छन् आज अबेरसम्म घरमा, श्रीमान् लिई साथमा ।
पूजापाठ सकी प्रभात नहुँदै, सासू खटिन् काजमा ।।
अन्डा दुग्ध चिया तयार छ भनी, सासू बुढी भन्दछिन् ।
आमा पौरख गर्दछिन् सुत वधू, हेरेर पो बस्दछन् ।३।
उम्दा शान्ति सुधार भव्य शमता, मिल्दैन है अस्त्रले ।
नारी जाति कुरूप दूषित भए, बेढङ्गका बस्त्रले ।।
डुल्छन् दूर अनेक सङ्गत गरी, धर्छन् खराबी लत ।
पार्छन् दिक्क निराश लौ न मनमा, हुन्छन् सबै आजित ।४।
सासू ती ससुरा र मान्यजनका, आदेश लत्याउँछन् ।
कैयौँ नाटक हाउभाउ छलले, श्रीमान् खुसी पार्दछन् ।।
बा आमाजन पुत्रका र वधूका, आशा खुबै गर्दछन् ।
स्वास्नीका वशमा परी शठहरू, आँखा तरी हिँड्दछन् ।५।
लोग्ने खट्छ कतारको बगरमा, टारौँ समस्या भनी ।
स्वास्नी शीघ्र सजाउँछे सहरमा, उत्ताउलो जीवनी ।।
धर्छन् नक्कल चाल फेसनहरू, पाश्चात्य संस्कारका ।
नाङ्गा तस्बिर दृश्य फेसबुकमा, राख्छन् अहो ! लाजका ।६।
छाडे पस्कन दाल भात घरमा, होटेलमा रम्दछन् ।
तारेका चिज सेकुवा र कचिला, अच्छा भनी धोक्दछन् ।।
केटा साथ लिई चुरोट मदिरा, लिन्छन् बडो सानले ।
नारीमा नसुहाउँने लत बस्यो, छोड्दैन त्यो कालले ।७।
छन्द – शादूर्लविक्रीडित
गण – म स ज स त त गु
सङ्केत – SSS – IIS – ISI – III – SSI – SSI – S
वि.सं.२०८१ फागुन २४ शनिवार ०७:१९ मा प्रकाशित






























