बाबुराम न्यौपाने “उत्स“, दमक, झापा
फलामको काँडेदार पिँजडा तोडेर
असीम खुसीमा
झुमिरहेको बेला
ए !! चतुर शासकहरू
फेरि
सुनको कलात्मक पिँजडामा
बन्दी बनाउने कुचेष्टा किन गर्छौ ?
आकाशका ताराहरूको
उज्यालो ओढेर
रात्रि सन्नाटाको चिरहरणगरी
समुद्रको लहरसँग
खेल्दै रमाउँदै
गन्तव्यतिर हिँडिरहेका
सामुद्रिक यात्रीहरूको
मार्गरोक्ने
व्यर्थको दृढतागर्ने तिमी
अन्धकारको बादसाह हौ ।
समुद्रमा लहरहरू उठिरहन्छन्
जहाजका यात्रुहरू
पालैपालो
चढ्ने र उत्रने क्रम चलिरहन्छ
सामुद्रिक आँधीपछिको
शान्तबिहानीमा
यात्रीहरू
पर क्षितिजमा उभिएकी
स्वतन्त्रताकी देवीलाई
नमस्कार गरिरहेका हुनेछन् ।
सुनको पिँजडा तोडेर
उन्मुक्त
चराहरूको विशाल हूल
समुद्रको गहिराइ र
सगरको उँचाइ नाप्न
पखेटा फट्फटाउँदै
मध्येरातमा पनि उडिरहेका छन्
के तिमीसँग
चराहरूको बाटो रोक्ने तागत छ।
वि.सं.२०८१ फागुन २४ शनिवार ०७:१७ मा प्रकाशित






























